सरकारीे औषधाललयबाट एक करोड ८१ लाख नाफा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारीे औषधाललयबाट एक करोड ८१ लाख नाफा


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ ।

अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महीनामा रु छ करोड १५ लाख ६० हजार बराबरको औषधि बिक्री गरिएको थियो । अस्पतालले गत आर्थिक वर्षमा रु नौ करोड ५० लाख २८ हजार बराबरको औषधि बिक्री गरी रु दुई करोड ६० लाख ८० हजार नाफा गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलका अनुसार अस्पतालले बोलपत्र आह्वान गरी औषधि खरीद गर्दै आएकाले सेवाग्राहीलाई निजी क्षेत्रको औषधालयभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सकेको हो । उनले भने, ‘अस्पतालले जति नाफा राख्छ त्यतिनै बराबरको सेवाग्राहीको रकम बचत हुन्छ ।’ बाहिरी औषधालयमा भन्दा ३० प्रतिशतसम्म छुटमा अस्पतालले औषधि बिक्री गर्दै आएको छ ।

बिरामीको चाप बढ्दै गएपछि अन्तरङ्ग विभागमा शल्यक्रिया, सघन उपचार कक्ष र पोष्टअपका लागि औषधालय थप गरिएको छ । अस्पतालले पछिल्लोसहित तीनवटा औषधालय सञ्चालनमा ल्याएको छ । सरकारले तीन वर्षअघि आफ्नै औषधालय सञ्चालन गर्न निर्देशन दिएसँगै भरतपुर अस्पतालले औषधालय सञ्चालन गरेको थियो ।

छ सय श्ययाको उक्त अस्पतालमा दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउने गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस