मेलम्चीको काम अघि बढाउन दातासँग छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


काठमाडौं । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ ।

दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम ‘फिनिसिङ’ हुन बाँकी छ । यसैगरी ८८५ मिटरमा ढलान गर्नुपर्ने छ । सुरुङभित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’ मध्ये दुई बनाउनुपर्नेछ ।

ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’ यसअघि नै छेडिएको छ । सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए। यसैगरी सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआइ पाइप राख्न बाँकी रहेको समितिले जनाएको छ ।

अनलाइनका माध्यमबाट दैनिक अनुगमन प्रणालीको उपकरण राख्नसमेत बाँकी छ । बाँकी कामका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सरोकार भएका निकायसँग थप छलफल जारी रहनेछ । आइतबार इटालियन निर्माण व्यवसायी सिएमसीलाई ठेक्का तोड्ने विषयमा लेखिएको पत्रका लागि १४ दिन कुरिनेछ । यही माघ १९ गतेपछि अर्को प्रक्रियाबाट कामलाई निरन्तरता दिइने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस