देश समृद्ध बनाउन आयात प्रतिस्थापन गर्नुपर्ने : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देश समृद्ध बनाउन आयात प्रतिस्थापन गर्नुपर्ने : मुख्यमन्त्री पौडेल


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउन आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा भएको छैटौँ खिचरा महोत्सव २०७५ को आज समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा निर्यातभन्दा आयात बढी भएकाले यसलाई रोक्न जरुरी रहेकामा जोड दिए । आयातलाई निमिट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

उनले खेतबारीलाई बाँझो रहन नदिन आफैँले काम गरेर आत्मनिर्भर बन्नुपर्ने बताए । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोवार बढाउनाका साथै प्रवर्द्धन गर्न पनि महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा महोत्सव आयोजक थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष चुडामणि चौधरीले थारू समुदायको महान् पर्व खिचरा (माघी)का अवसरमा गरिएको सो महोत्सव पहिचानसँग जोडिएकाले थारू संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिइएको बताए। माघी (खिचरा) पर्वका अवसरमा छैटौँ संस्करणको सो महोत्सव गत पुस २८ गतेदेखि शुरु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस