नेताका स्मृतिमा स्थापित अस्पताल बन्द गर्ने नीति सरकारको छैन : मन्त्री पुन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेताका स्मृतिमा स्थापित अस्पताल बन्द गर्ने नीति सरकारको छैन : मन्त्री पुन


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


काठमाडौं । लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारको नीति नरहेको ऊर्जामन्त्री वर्षमान पुनले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा संघीय संसद् भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसित सङ्क्षिप्त कुराकानी गर्दै उनले विधि र प्रक्रिया पूरा गरेपछि कुन निकायले अस्पताल सञ्चालन गर्ने हो यसका बारेमा सरकारले निर्णय लिन्छ भने । मन्त्री पुनले प्रमुख प्रतिपक्षी दललाई सदनमा पेलेर जाने नीति सरकारले नलिएको स्पष्ट पार्दै संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षी मिलेर जानुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा तथा प्रतिनिधि सभाको पहिलो बैठक आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना स्वर्गीय अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जेपी कोइराला राष्ट्रिय श्वासप्रश्वास तथा उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके सञ्चालन गर्ने बारेमा सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै अवरुद्ध पारेको थियो । सरकारले हालै देशका विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने निर्णय नगरिएको बताइन्छ ।

नेकपाका नेता भीम रावले लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका स्मृतिमा स्थापित अस्पताल बन्द हुँदैन, विधि र प्रक्रिया पुरा गरेपछि सञ्चालनको ढाँचा तयार हुन्छ भने ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सङ्क्षिप्त कुरा गर्दै सत्तापक्ष र प्रमुख प्रतिपक्ष बीचको सहमति, सहकार्य र एकताले मात्र संविधान कार्यान्वयनमा बल पुग्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस