समायोजन पत्र गोजीमा, धार्के-नौबिसेमा जम्काभेट ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समायोजन पत्र गोजीमा, धार्के-नौबिसेमा जम्काभेट !


बिनाराम खड्का

६ माघ २०७५, आइतबार


समायोजन पत्र

विश्वास र आशङ्का एकसाथ गर्दै एउटा मनचिन्ते अनुमान कोरेको छु ! कर्मचारी समायोजन प्रणालीले न्यायको पक्षमा तराजु उचालेको दिन जागिरे जीवनका १६ बर्से अवधिमा पहिलो पटक ११ हजार भोल्टको विधुतीय करेन्ट प्रवाह हुने देखिन्छ ! बर्षौदेखि एकै ठाउँमा जमेर ककट्टिएको कर्मचारीतन्त्रको फोहोरी आहालमा सिँहदरवार आसपास इपिसेन्टर भएको ९ रेक्टर स्केलको भूकम्प विस्फोट हुनेछ । यद्धपि त्यो प्रवाह र भुइचालोमा आफू कता हुत्त्याइन्छ अनुमानकै विषय रह्यो ! कर्मचारी समायोजन अध्यादेशका प्रावधान अनुसार सिनियारिटी वेशको आधारमा साँच्चीकै सफ्टवेयरले खटनपटन गर्‍यो भने त्यसको हप्ता १० दिन नेपालको कर्मचारीतन्त्र निकै ठुलो तरङ्ग र रोमाञ्चक हलचलको क्षणबाट गुज्रनेछ !

सफ्टवेयर वेश अनुमानयोग्य खटनपटन भएको दिनदेखि संघ, संगठन, ट्रेड युनियनका झुन्डको नाममा रहेका राजनीतिक दलप्रतिको अगाध अवरुद्धता त्याग्दै कर्मचारीतन्त्र दलगत तावेदारी र पक्षधरताबाट निष्पक्षताको पथतिर हिँड्न अभिमुख हुनेछ । किनकि अहिले जति दलनिकट संघ, सङ्गठन खोलिएका छन् ती कुनै राजनीतिक परिवर्तन, पृथक् विचारधारात्मक दर्शन र क्रान्तिको बाँकी अविभारा तथा कार्यभार पूरा गर्नका लागि खोलिएका होइनन् । मात्र सरुवाको लागि शक्तिशालीहरूको पाउमा तेल दल्ने सहजताको लागि खोलिएका हुन् ! पोलिटब्युरोको हवाला दिँदै विभागीय मन्त्री र सचिवको च्याम्वरसम्मै पुगेर यो यो मान्छे हाम्रो, त्यो त्यो मान्छे बिरानो भन्दै सरुवा तथा खटनपटनका लिस्ट तलमाथि, काँटछाँट पार्नको लागि खोलिएका हुन् ।

शङ्काको बिचबाट सफ्टवेयरलाई विश्वास गर्दा पावर र शक्तिको आडमा राजधानीमा केन्द्रित एउटा ठुलो लावालस्कर दुर्गम देहाततिर ओर्लन विवश हुनेछ । उपत्यका अर्कै देश हो, हाम्रो त्यहाँ कहिल्यै पहुँच पुग्दैन, सङ्घीय राजधानी हाम्रो आफ्नो पनि राजधानी हुनै सक्दैन किनकि हामी दल र सङ्गठनका सदस्य होइनौ भनेर हार कायल खाएकाहरूले उपत्यका छिर्ने अपूर्व मौका पाउन सक्नेछन् ! सङ्घीयताको वास्तविक अनुभूति सिंहदरवारका सिंहहरुलाई गाउँमै आएर हुनेछ र सिंहदरवारप्रति चरम असन्तुष्टि ओकल्नेहरु स्वयम् सिंहदरवारकै टाउको र गर्धन नजिकको ढाड आसपास पुग्न सक्नेछन् !

संविधान, राज्यप्रणाली, शासकीय स्वरूपमा यत्रो परिवर्तन भई सार्वभौमसत्ता सम्पन्न जनताबाट जननिर्वाचित प्रदेश र स्थानीय सरकार आइसक्दा पनि सङ्घको एउटा विभाग स्तरीय कार्यालयबाट संविधान विपरित, हाल आफ्नो लाइन एजेन्सी समेत नरहेको, उनैले भनेका पुराना कानुनमा समेत कतै नभेटिने पद र संरचनाको नाममा, स्थानीय तहमा कार्यरतहरूलाई  ‘यसोयसो गर, उसो उसो नगर, सकेसम्म पछाडितिर फर्के, सक्दै नसके यथास्थितिमा अड्या । तर अगाडि त कुनै पनि हालतमा बढ्दै नबढ’ भन्ने भावार्थका निर्देशन दिने महानुभावहरू सङ्घबाट झोलीतुम्बी बोकेर स्थानीय तहतिर ओर्लेको क्षण थानकोट र नाग ढुङ्गा चेक प्वाइन्ट पनि एक पटक नतमस्तक र आश्चर्यचकित नहोला भन्न सकिन्न !

सिंहदरबारलाई ‘ठूलाठूला सत्ताधारी र सत्तानिकट पार्टी तथा संगठनू निकटहरूको बाउ बाजेको बिर्ता सोच्ने महानुभावहरू दुर्गम स्थानीय तहका अनकन्टार स्थानमा हुत्तिएर प्लास्टिकको डल्फिन कुर्सीमा बसेर नो इन्टरनेट एक्सेस, नो कनेक्सन लेखिएको लो ब्याट्रि इङ्गित स्क्रिन टच मोबाइलमा बुढी औँला तलमाथि सरकसरक पार्दै, कार्यालयको ढोका आफै खोल्दै आफै बन्द गर्दै, २।४ जना सेवाग्राहीसंग आफै वादविवाद र आफै वार्ता गर्दै स्थानीय सरकारका अन्टसन्ट आदेशमा अतालिएको क्षण कस्तो होला ?

नीति निर्माण तह मन्त्रालयबाट कसले के गर्ने भन्ने सुस्पष्ट कार्य विवरण समेत नबनाएर देशलाई अनिर्णयमा कैद गर्ने महानुभावहरूको ठुलो सङ्ख्या झिटीगुन्टा बोकेर आफै यता स्थानीय तहतिर ओर्लिँदै गर्दाको परिदृश्य ! लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासमा वर्णित अवस्थाझैँ कति मर्मस्पर्शी र हृदयविदारक होला त्यो क्षण !

जागिरी खान जानेका पहुँचवाला ‘पोलिटब्युरो’ का खास भित्रिया मान्छे कर्णालीतिर र हामी नेपालमा जन्मिन नजानेका कतै फिट नहुने बिब्ल्याँटा आक्चे काफल सङ्घीय राजधानीतिर ! समायोजनको पत्र गोजीमा । धार्के नौबिसेमा जम्काभेट ! पृथ्वी पल्टिन्छ कि कतै ! प्रतीक्षाको घडी धेरै छैन अब ! इति संवत् २०७५ माघ ६ रोज १ शुभम्

खड्का मुसिकोट नगरपालिका रुकुम पश्चिमेका शिक्षा अधिकृत हुन्

Tags :
प्रतिक्रिया दिनुहोस