सर्लाहीमा छुट्टछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्लाहीमा छुट्टछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते


प्रशासन संवाददाता

५ माघ २०७५, शनिबार


सर्लाही । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।

पूर्वको झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नं को बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नं को ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता राई र ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट विदुरनगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीया राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएका छन् । तामाङको खुट्टा भाँचिएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । खतिवडाको टाउकोमा गम्भीर चोट लागको छ । उहाँको उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ ।

त्यसैगरी अधिकारीलाई समान्य चोट लागेकाले उनको उपचार सर्लाहीको लालबन्दीमा भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान करीब ९ बजेको समयमा ईश्वरपुर नगरपालिकाबाट त्रिभुवन नगर आउँदै गरेको ना ३ ख १५१२ नम्बरको यात्रुबाहक बसले ब्रहम्पुरी गाउँपालिकामा एक बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका रामबाबु मुखियाको ६ वर्षीय छोरी सोनाली कुमारी मुखियाको मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस