महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


पोखरा । दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ भिड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवले प्रदेश नं ३ माथि ३–२ को रोमाञ्चक जित निकाल्यो । कोपिला उप्रेतीको कप्तानी कोर्टमा उत्रिएको पुलिसले स्टार खेलाडी प्रतिभा मालीको प्रदेश नं ३ विरुद्ध पहिलो सेट १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रदेश नं ३ ले तेस्रो सेट २५–२३ ले कब्जा जमाएर २–१ को अग्रता लियो । दबाबमा परेको पुलिसले प्रदेश नं ३ लाई स्तब्ध बनाउँदै चौथो र पाँचौँ सेट २७–२५ र १५–७ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्न सफल भएको हो । अर्को सेमिफाइनल प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई २५–८, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम टोलीले रु तीन लाख ५० हजार, दोस्रोले रु एक लाख ७० हजार, तेस्रोले रु एक लाख र चौथोले सान्त्वनास्वरुप रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस