जैविक कृषि उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शाही « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जैविक कृषि उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शाही


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रासायनिक विषादी संसारकै डरलाग्दो बम भएको बताएका छन् ।

साना किसान विकास लघुवित्त संस्था लि इलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतको आज उद्घाटन गर्दै उनले भने, ‘रासायिनक विषादी मानव स्वास्थ्य समाप्त पार्ने बम हो, यस्ता विषादी मिश्रित खाद्यान्न आयात प्रतिस्थापन गर्न यहाँको जैविक कृषि उत्पादनमा जोड दिनुपर्दछ ।’

मुख्यमन्त्री शाहीले आजको बजार रासायनिक विषादीयुक्त खाद्यान्नले ओगटेको उल्लेख गर्दै कृषिसहित समग्र प्रदेशको विकासका योजना निर्माणमा सरकार लागेको बताए ।

उनले भने,’कृषिका माध्यमबाट कर्णालीको गरीबीलाई अन्त्य गर्न सकिन्छ, कृषि क्षेत्रमा आकर्षण बढाउन कर्णालीमा श्रम गर्नेलाई सम्मान गर्ने योजना छ ।’

प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारीका माध्यमबाट कर्णालीको समृद्धि कायम हुने बताए । ‘अब कर्णाली मागेर खाने होइन, अरूलाई दिने प्रदेश बनाउन चाहन्छौँ,’ उनले भने, ‘यसका लागि समाजमा उद्यमशीलता र गरीब किसानको हातमा कार्यक्रम जानुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस