धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


काठमाडौं । वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म रु एक अर्ब ४२ करोड नाफा गरेको छ ।

बैंकको गत वर्षको सोही अवधिमा रु एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले रु एक खर्ब २४ अर्ब निक्षेप सङकलन गरी रु एक खर्ब ५ अर्ब बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छे्र बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ । गत पुस मसान्तसम्म रु ७८ करोड १३ लाख बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा रु ४८ करोड ५७ लाख नाफा गरेको थियो । बैंकले रु ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको छ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा रु एक अर्ब ५१ करोड नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले रु ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म रु एक खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब ४९ अर्ब ऋण लगानी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस