अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर नेपाल गाईपालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर नेपाल गाईपालन


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


रत्ननगर । नेपाली भूमिमा आम्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।

१० वर्षअघि नेपालबाट अष्ट्रेलिया पुगेका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु ८ लाखसम्म आम्दानी गर्थे । अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले उनीहरूले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याउन लागेका छन् । अहिले रु ३६ करोडको लगानीमा गाई फार्मलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेती शुरु गरिएको छ ।

फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उनले भने, ‘अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।’

केसीका अनुसार नेपालमा अहिलेसम्म अष्ट्रेलियन प्रविधिमा आधुनिक गाई फार्म सञ्चालनमा आएको छैन । फार्मले माडी नगरपालिका–१ पाण्डवनगरस्थित रिउखोलाको तिरमा स्थानीय व्यक्ति र स्थानीय सरकारको संरक्षणको ५०० हेक्टर उपयोगविहीन जमीनमा ‘साइलेज’ उत्पादन गर्न ३० वर्षका लागि नगरपालिकासँग सम्झौता गरेको छ ।

नेपालमा पाइने होलिस्टेन फ्रिजियन जातको गाईका २०० बाछी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरका व्यावसायिक गाई फार्मबाट खरिद गर्ने सञ्चालक केसीले जानकारी दिनुभयो । फार्मले ५०० स्थानीयवासीलाई रोजगारी दिने गाई फार्मका अर्का सञ्चालक सागर बगालेले बताए ।

उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भने, ‘दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।’

माडीलाई कृषि र पर्यटनमा व्यवस्थित गर्न अघि बढेका छौँ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भने, ‘उपयोगविहीन सार्वजनिक जग्गा प्रयोगमा आउनु राम्रो कुरा हो । फार्मले घाँस लगाएपछि खेती गर्न छाडेका जमीनमा स्थानीय कृषकले पुनः खेती गर्ने वातावरण बनेको छ । यसबाट माडीवासी र नगरपालिकालाई प्रत्यक्ष फाइदा पुग्छ ।’ उक्त फार्मले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

माडी दूधमा आत्मनिर्भर

६ वर्षअघि दैनिक २५० लिटर दूध उत्पादन हुने यहाँ हाल दैनिक ५ हजार दूध उत्पादन हुन्छ । नेपाल दुग्ध विकास संस्थान (डिडीसी) ले छ वर्षदेखि दूध खरिद गर्न थालेकाले यहाँका कृषकले व्यावसायिक रुपमा गाई, भैँसी पाल्न थालेका थिए । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष सूर्य भुसालका अनुसार ३५ भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्ने गरेका छन् । उत्पादित दूधलाई भण्डारण गर्न माडी–१ र ७ मा १/१ चिस्यान केन्द्र छन् ।

‘माडीमा सात वर्षअघि व्यावसायिक गाई तथा भैँसीपालक कृषक थिएनन्,’ अध्यक्ष भुसालले भने, ‘२ वर्षदेखि व्यावसायिक गाई तथा भैँसीपालन शुरु भएको हो । अहिले एक जनाले ५० सम्म गाई, भैँसी पालेका छन् ।’

यहाँबाट दैनिक ५ हजार लिटर बजारमा खपत हुन्छ । ४ हजार लिटर दूध डिडीसीले खरिद गर्छ भने बाँकी एक हजार लिटर दूध स्थानीय बजारमै बिक्री हुन्छ । कृषकले दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले उनन्त जातका गाई तथा भैँसी पाल्न थालेका जानकारी दिँदै अध्यक्ष भुसालले भने,’डिडीसीले विभिन्न संघसंस्थाका १२ सङ्कलन केन्द्रमार्फत दूध खरिद गर्छ । नगरपालिकाले यस वर्षदेखि डिडीसीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर रु तीनको दरले अनुदान दिने व्यवस्था गरेको छ ।’

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहित गर्न कृषि विकास बैंकसँगको सहकार्यमा साढे ४ प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको पनि व्यवस्था गरेको छ । चितवन देशकै धेरै दूध उत्पादन गर्ने दोस्रो जिल्ला हो । हाल यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस