थोत्रा थन्क्याउन किन ढिलाइ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थोत्रा थन्क्याउन किन ढिलाइ ?


प्रशासन विशेष ब्युरो

४ माघ २०७५, शुक्रबार


काठमाडौँ । यति बेला सिंहदरवारको सरसफाइ तिव्ररुपमा अघि बढेको छ । सदियौँदेखिको फोहोर उठाउने र थोत्रा गाडी व्यवस्थापन गर्न दिनरात काम भइरहेको छ ।

सिंहदरवार परिसर अनुगमन समितिका सदस्यहरूको टोली दैनिक १४ देखि १६ घण्टा सिंहदरवारमा खटिएको छ । हरेक मन्त्रालयमा सम्पर्क व्यक्ति नै तोकेर आँगन बढार्न लगाउने, कुनाकाप्चाको फोहोर उठाउने, थोत्रा गाडी हटाउनेदेखि पानीको फोहोराबाट कार्यालय पखाल्नेसम्मका काम निरन्तर जारी छ ।

दैनिक आधा दर्जन जति सरसफाइ साधनहरू(ट्याङ्कर, ब्रुमर, डोजर, टिप्परलगायत)ले सिंहदरवार परिसरलाई व्यवस्थित बताउँदै छन् । प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिवको अग्रसरता अनि सहसचिवको संयोजकत्वमै टोली परिचालनपछि धेरै जसो मन्त्रालयहरूले आ–आफ्नो कार्यालयमा सरसफाइ गरेको देखिन्छन् भने केही कार्यालयले भने अझै टेर पुच्छर लगाएको देखिँदैन ।

केही दिन अघिसम्म चार कोसे झाडी जस्तै रहेको यो भूभाग अहिले सम्म बनिसक्यो । लाखौँका सवारी माटोमा मिसिँदै गरेको अवस्थाबाट उद्धार गरेर त एक ठाउँमा राखियो तर सम्बन्धित निकायले त्यसको व्यवस्थापनको लागि चासो नदिँदा सरसफाइ नै नपचेको पो हो कि ? भनेर कर्मचारीबाटै कल काटिन थालिसकेको छ ।

सन्दर्भ परराष्ट्र मन्त्रालयको हो । अधिकांश समय देश विदेश घुम्ने यस मन्त्रालयको नजरमा कहिल्यै परेन ‘आँगनको फोहोर’ । बाहिरबाट हेर्दा राम्रै कन्डिसन र सामान्य मर्मतपछि चल्न सक्ने अवस्थाका आधा दर्जन गाडीहरू झाडीमा मिल्काएर माटोमा मिसिई रहेको देखेन नै, सिंहदरवारभित्रै सबैभन्दा गए गुज्रेको क्यान्टिन चलाएर काग ग्राहक बनाएको नमुनासमेत यसै मन्त्रालयमा देखियो ।

सम्बन्धित समाचार : परराष्ट्रको चमेना गृहमा काग ग्राहक !

सिंहदरवारभित्र सञ्चालन गरिएका क्यान्टिनहरूले न्यूनतम मापदण्ड पुरा गर्नुपर्ने तथा जताततै मिल्काइएको सवारी अस्तव्यस्ततालाइए व्यवस्थापनका लागि हामीले निरन्तर आजाव उठाउँदै आएका थियौँ ।

सम्बन्धित समाचार : बोल्ड निर्णयको पर्खाइमा सिंहदरवारका सवारी !

यसपछि पनि हामीले अभियान विगत झै नारामै सिमित नहोस् भन्नका लागि निरन्तर खबरदारी गर्दै आएका छौ ।

सम्बन्धित समाचार : सिंहदरवारका ‘कवाड’ गाडी व्यवस्थापन गर्न पहल

सिंहदरवार व्यवस्थापनका लागि प्रशासन डटकमको निरन्तरको खबरदारीपछि चासो लिएको प्रधानमन्त्री कार्यालयले आधा सिंहदरवार सफाइ भ्याईसक्दासमेत उही र उस्तै अवस्थामा क्यान्टिन सञ्चालनमा आएको र गाडी नहटाइएको भेटिएपछि पुनः एक पटक हामीले यस विषयमा फलो अप गरेका छौँ ।

एकताका काग ग्राहक रहेको क्यान्टिन अब कस्ता खाले ग्राहकलाई लक्षित गरी पुनः सञ्चालनमा ल्याइन लागेको हो ? भन्ने प्रशासन डटकमको प्रश्नमा मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता भरत राज पौड्याल भन्छन्–’सिंहदरवार सफाइका लागि यहाँले उठाएको सवाल लगत्तै क्यान्टिन हटाई सकेको छ, तर प्रक्रिया पुरा भइनसकेकोले माघ १५ गतेसम्म मात्रै चलेको होला ।’

सुन्दरता बिग्रिने गरी माघ १५ पछि यस्तो अवस्थाको क्यान्टिन नरहने उनको भनाई छ ।

 

त्यसैगरी वृहत्तररुपमा सिंहदरवार सफाइ भई रहँदा थोत्रा गाडीको कुरुपताले कहिले सम्म हट्ने प्रक्रिया पुरा गरिसक्ला ? भन्ने प्रशासन डटकमको दोस्रो प्रश्नमा सहसचिव तथा प्रवक्त्ता पौड्यालले भने –’ठ्याक्कै दिन त उहाँहरू कहिले लिन आउनु हुन्छ भन्नेमा निर्भर रहने भएकोले भन्न सकिएन, तर पुस २५ गते नै सङ्घीय मामिलालाई तीन वटा गाडी लैजानुस् भनेर पत्र पठाई सकिएको छ ।’

त्यसै गरी मर्मत गरेर चल्न नसक्ने गाडीहरू लैजान सिटिईभिटिलाई पुस २७ गते नै पत्राचार भइसकेको उनले पौड्यालले बताए ।

सरसफाई पछि सारिएका गाडी
सरसफपाई अघि झाडिमा रहेका गाडी

करिब चार सयको हाराहारीमा रहेका सिंहदरवारभित्रका थोत्रा सवारी व्यवस्थापन गर्ने सवालमा समितिले मर्मत गरी चल्न सक्ने अवस्थाका सवारी मन्त्रालय, विभाग तथा स्थानीय निकायलाई पठाउने र मर्मत नहुने र लिलाम गर्दा चौवन्नीमा जाने सवारीलाई सिकाई सामाग्रीको रूपमा सिटिईभिटिमा हस्तान्तरण गरी सिंहदरवारलाई व्यवस्थित बनाउने योजनाअनुसार सोही अनुसार गर्न गराउन मन्त्रालयमा पत्राचार गरिसकेको छ । जस अनुसार केहीले लिलाम नै गरी सकेको छन् भने केही प्रक्रिया अघि बढाई सकेका छन् ।

परराष्ट्र मन्त्रालयका सवारीको हकमा लामो पद्धतिबद्ध प्रक्रिया पुरा गरी प्रक्रियामा रहेको पौड्यालको भनाई छ ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त सुझाव अनुसार मर्मत गरेर चल्न सक्ने गाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाई दिन र चल्न नसक्ने र लिलाम पनि नहुने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् उपलब्ध गराउन भनी निर्देशन आएसँगै दुवै निकायमा पत्राचार भई सकेको उनले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस