डा. केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग


प्रशासन संवाददाता

३ माघ २०७५, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन्।

सरकारले चाहेमा अझै पनि डा. केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने थापाले बताए । शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले आज यहाँ पत्रकार सम्मेलन गरी भने, ‘सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा. केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।’
सम्झौताअनुसारको विधेयक बनेमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधारको नयाँ यात्रा प्रारम्भ हुने नेता थापाको भनाइ थियो ।

डा.केसीले अनशन नबसेको भए देशको स्वास्थ्य र शिक्षा क्षेत्र अस्तव्यस्त हुने दाबी गर्दै नेता थापाले नेपालमा ठूलो दुर्घटना र चलखेल हुनबाट डा केसीले जोगाएको जिकिर गरे । मापदण्ड विना पहुँचका आधारमा मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया उनकै कारण रोकिएको नेता थापाको दाबी थियो ।

थापाले ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ भन्ने शब्दावली प्रस्तावनामा नै राख्नुपर्ने माग गरे ।  सरकारले सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै अहिले डा. गोविन्द केसी १६औँ अनशनमा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस