खानेपानी संस्थानकै जारमा जिउँदो किरा ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खानेपानी संस्थानकै जारमा जिउँदो किरा !


प्रशासन विशेष ब्युरो

२ माघ २०७५, बुधबार


जारमा जिउँदो किरा

काठमाडौँ । नेपाल खानेपानी संस्थानद्वारा उत्पादित एन.डब्लु एस.सी. पिउने पानीको जारमा जिउँदो किरा फेला परेको छ ।

गृह सचिव प्रेम कुमार राईको कार्यकक्षमा राख्न ठिक्क पारिएको जारमा जिउँदो किरा भेटिएपछि जारसहित जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि लेखी पठाइएको छ ।

‘शुद्ध स्वच्छ खानेपानी प्रतिको आवद्धता नेपाल खानेपानी संस्थानको प्रतिबद्धता’ भनेर प्रचार गर्दै उपभोक्तालाई बिक्री वितरण गर्दै आएको खानेपानी संस्थानले गरेको यो लापरबाही क्षम्य हुन नहुने एक सरकारी अधिकारीको भनाई छ ।
‘सरकारी जारमै किरा ?’ उनले प्रश्न गर्दै भने, ‘जारमा भेटिएको किरा तीन दिनसम्म पनि पौडिरहनुले पनि भन्न सकिन्छ कि यो पानीमै हुने किरा हो ।’

परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण विभागमा पठाउन जिल्ला प्रशासनमा राखिएको २० लिटरको जारमा किरा पौडिरहेको देख्न सकिन्छ । जारमा रहेको जिउँदो किराको भिडियो प्रशासन डटकमसँग सुरक्षित छ ।

‘सोमबार गृह मन्त्रालयमा एक सय वटा २० लिटरको पानीको जार झारिएको थियो,’ गृहका एक अधिकारीले भने, ‘मङ्गलवार १० बजे गृह सचिवको कोठामा लैजान स्टोरबाट कार्यालय सहयोगीले बोकेर ल्याएको पानीको जारमा किरा पौडिएको भेटियो ।’

पानी राख्दै गर्दा गृह सचिव नै आईपुगेपछि उनले जार भित्र ल्याउन भनेका थिए । जारमा जिउँदा किरा पौडिरहेको देखेपछि तत्काल आन्तरिक प्रशासन शाखाका कर्मचारीलाई बोलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पठाउन निर्देशन दिएका थिए ।

गृह सचिवको निर्देशन पछि कर्मचारीहरूले जारको मुचुल्का उठाई शिलबन्दीसहितको जार र सोको मुचुल्काको सक्कलैप्रति जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

जताततै गुणस्तरीयताको कुरा उठिरहँदा सरकारी कार्यालयद्वारा उत्पादित पानीमा नै जिउँदो किरा भेटिनुले भन्न सकिन्छ कि उपभोक्ताको स्वास्थ्यमाथि सरकारी निकायबाटै कसरी खेलबाड भइरहेको रहेछ त !

प्रतिक्रिया दिनुहोस