आहा ! रेडियो नेपाल (फोटो फिचर) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आहा ! रेडियो नेपाल (फोटो फिचर)


२ माघ २०७५, बुधबार


रेडियो नेपाल

काठमाडौँ । देशकै जेठो राष्ट्रिय प्रसारण सञ्चार माध्यम रेडियो नेपालको नाम नसुन्ने कमै होलान् । तर, सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रीय कार्यालयमा पुग्ने अवसर भने सबैलाई नजुरेको हुन सक्छ ।

औपचारिक रूपमा वि.सं.२००७ साल चैत २० मा शुभारम्भ भएको रेडियो नेपाल विभिन्न बाधा अड्चनहरूलाई छिचोल्दै आजको अत्याधुनिक भवन तथा उपकरणहरूबाट सुसज्जितको अवस्थामा आई पुगेको छ ।

प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रसारण हुँदै आएको रेडियो नेपाल २०१७ सालमा ५ घण्टा, २०२५ सालदेखि १२ घण्टा हुँदै २०४१ सालबाट १३ घण्टाबाट २०७३ भदौ १ गतेदेखि २४ सै घण्टा प्रसारण हुन थालेको छ । हाल रेडियो नेपालले २१ वटा एफएम, ६ वटा मिडियम वेभ(एमबब्लू) र अनलाइनबाट समेत प्रसारण भइरहेको छ ।

२०५० साल चैत्र २० गतेबाट क्षेत्रीय प्रसारण केन्द्रबाट क्षेत्रीय प्रसारण सेवा सुरु गरेको रेडियो नेपालले धनकुटा, काठमाडौँ, पोखरा, सुर्खेत र दिपायलबाट गरी विभिन्न २१ भाषामा समाचार र १९ भाषामा कार्यक्रमसमेत प्रसारण गर्दै आएको छ ।

सबै वर्ग, पेसा, जातजाति, भाषाभाषीलाई समेट्दै राष्ट्रको अग्रणी सञ्चार माध्यम बनेको रेडियो नेपालको लोकप्रियता जति छ, त्यति नै व्यवस्थित र वातावरणमैत्री पनि ।

सिँहदरवारस्थित करिब तीन दर्जन बढी निकायहरूमा सबैभन्दा व्यवस्थित, सुन्दर र मनोरम छ रेडियो नेपाल ।

केही समय अघिदेखि मात्रै सिंहदरवार व्यवस्थापन सम्बन्धमा ‘सिंहदरवार परिसर अनुगमन समिति’ले सुरु गरेको एकीकृत सरसफाइ अभियानका क्रममा रेडियो नेपाल अग्रणी देखिएको छ ।

सफा र स्वच्छ वातावरणले सकारात्मक सोच्ने र काम गर्ने प्रवृतिमासमेत उत्साह जगाउने भएकोले सरसफाइ र वातावरणीय सुधारलाई रेडियो नेपालले प्राथमिकता दिँदै आएको नायव कार्यकारी निर्देशक तथा सूचना अधिकारी बुद्धि बहादुर केसीको भनाई छ । ‘वातावरणमैत्री कार्य क्षेत्रले रचनात्मकतामासमेत बढोत्तरी ल्याउँछ,’ सूचना अधिकारी केसीले भने, ‘लाखौँ श्रोतालाई ज्ञान, सूचना र मनोरञ्जन दिँदै आएको रेडियो नेपाल आफै नमुना हुन पनि जरुरी छ ।’

व्यवस्थापन तथा कर्मचारीलगायत सिङ्गो रेडियो नेपाल परिवारको साझा प्रयासबाट नै रेडियो नेपाल परिसरलाई सफा, सुग्घर र वातावरणमैत्री बनाउन सकेको उनले बताए ।

हेर्नुहोस् कार्यालय पसिसरदेखि बगैँचा व्यवस्थापनसम्मका केही तस्विरहरु  

Tags :
प्रतिक्रिया दिनुहोस