समानुपातिक निर्वाचण प्रणाली र यसका गुण, दोष « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समानुपातिक निर्वाचण प्रणाली र यसका गुण, दोष


ललित कुमार बस्नेत

२९ पुस २०७५, आइतबार


विश्वमा प्रचलित सामान्य बहुमतीय निर्वाचन प्रणाली तथा निरपेक्ष व पूर्ण बहुमतीय निर्वाचन प्रणालीले अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्न नसक्ने भएपछि त्यसको प्रतिक्रिया स्वरूप समानुपातिक निर्वाचन पद्धति युरोपमा १९ औँ शताब्दीमा विकसित गरिएको हो । यस पद्धति अनुसार जसको जति मत सङ्ख्या छ, त्यसको त्यति नै अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनुपर्छ भन्ने नै हो । यसबाट बहुमतको साथसाथै अल्पमतको पनि उपयुक्त प्रतिनिधित्व हुन जान्छ । ल्याटिन अमेरिका तथा अफ्रिकाका एक तिहाइ मुलुकहरूमा यो पद्धति लागू गरिएको छ । यस प्रणालीमा मत गणना नभएर मत जोख्नुपर्छ भन्ने मान्यता राखिन्छ ।

Encyclopedia of election ले यसलाई यसरी परिभाषित गरेको छ:

“Proportional Representation system are those in which seats are allocated to the political parties in proportion to the votes they receive at election”

सम्पूर्ण देशलाइ नै एक निर्वाचन क्षेत्र मानी राजनीतिक दलहरूले पाएको मत प्रतिशतको अनुपातमा सदस्यहरू विजयी भएको घोषणा गर्ने र सोही बमोजिम शासन सञ्चालनमा राजनीतिक दलहरूको सहभागिता रहने शासन पद्वतिनै समानुपातिक प्रतिनिधित्व प्रणाली हो । लोकतन्त्रमा बहुमतले शासन गर्ने भए पनि अल्पमतको कदर गर्नु पर्दछ भन्ने जे. एस. मिलको धारणा अनुसार समानुपातिक प्रतिनिधित्वको सिद्धान्त विकास भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समानुपातिक निर्वाचन प्रणाली भन्नाले सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने निर्वाचन प्रणाली बुझिन्छ ।

समानुपातिक निर्वाचन पद्धतिको मुख्य रूपमा निम्न विशेषता रहेका हुन्छन्: 

  • सम्पूर्ण देश वा प्रदेशलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ ।
  • बहुसदस्यीय निर्वाचन क्षेत्र हुनुपर्छ ।
  • उम्मेदवारले निर्वाचित हुनको लागि निर्धारित कोटा अनुसारको मत प्राप्त गर्नुपर्दछ । इजरालयमा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशत, जर्मनीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने गरी तजचभकजयमि राखिएको छ । नेपालमा सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नका लागि ३ प्रतिशत र प्रदेशसभामा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशत को थ्रेसहोल्ड राखिएको छ ।

समानुपातिक प्रतिनिधित्व प्रणालीका प्रकार:

समानुपातिक निर्वाचन प्रणाली मुख्य रूपमा निम्न प्रकारको हुन्छ:
(क) सूची प्रणाली
(ख) एकल संक्रमणीय मत प्रणाली
(ग) एकमुष्ट मत प्रणाली

(क) सूची प्रणाली : समानुपातिक पद्धतिमा सबभन्दा सरल र लोकप्रिय पद्धतिका रूपमा सूची पद्धति रहेको पाइन्छ । अधिकांश समानुपातिक निर्वाचन पद्धति अपनाएका मुलुकहरूले यही सूची पद्धतिलाई नै अपनाएको पाइन्छ । यस्तो निर्वाचन पद्धतिमा निर्वाचनमा भाग लिने दलहरूले आफ्ना उम्मेदवारको सूची तयार गरी निर्वाचन आयोगमा बुझाउँछन् । यो सूची खुला, बन्द वा स्वतन्त्र गरी ३ किसिमको हुन सक्छ । मतदाताहरूले निर्वाचनमा राजनैतिक दललाई मत दिने गर्दछन् र राजनैतिक दलहरूले प्राप्त गरेको कुल मतको अनुपातमा उनीहरूले प्राप्त गरेको सिट सङ्ख्या एकिन गरिन्छ र सोही सिट सङ्ख्या अनुसार राजनैतिक दलहरूले सूचीमा रहेका आफ्ना उम्मेदवार छनौट गरी पठाएको आधारमा निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्दछ । नेपालमा २०६४ को संविधानसभा निर्वाचन र त्यसयताका सबै आम निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत यही सूची प्रणालीको सिद्धान्त अवलम्बन गरिएको छ ।

(ख) एकल संक्रमणीय मत प्रणाली : यो प्रणाली अनुसार प्रतिनिधि छनौट गर्न सम्पूर्ण देशलाई एउटा मात्र निर्वाचन क्षेत्र कायम नगरी बहुनिर्वाचन क्षेत्रहरूमा विभाजन गरिन्छ । त्यसरी विभाजन गरिएका निर्वाचन क्षेत्रमा एकभन्दा बढी सिट हुने गर्दछन् । कुनै निश्चित निर्वाचन क्षेत्रबाट जतिसुकै सदस्य छनौट हुने भए पनि प्रत्येक उम्मेदवारलाई प्राथमिकताको आधारमा कुनै एक उम्मेदवारलाई मत दिने अधिकार हुन्छ । मतदान पश्चात् प्रत्येक निर्वाचन क्षेत्रमा कुन कुन उम्मेदवारको पक्षमा के कति मत परेको छ सोको गणना गरी निर्वाचन हुन आवश्यक मत सङ्ख्या यकिन गरिन्छ । गणनाको क्रममै पहिलो उम्मेदवारले निर्वाचित हुन आवश्यक न्यूनतम मतभन्दा बढी मत प्राप्त गरेको भएमा उसलाई निर्वाचित गरी बढी भएको मत दोस्रो प्राथमिकताक्रमका उम्मेदवारलाई हस्तान्तरण हुन्छ र सबै उम्मेदवारहरू निर्वाचित नभएसम्म यो क्रम चलिरहन्छ । प्राथमिकता क्रममा मतहरू एउटा प्रतिनिधिबाट अर्को प्रतिनिधिमा सर्दै जाने हुने भएकोले यस प्रणालीलाई परिवर्तणीय मत प्रणाली पनि भन्ने गरिन्छ ।

यो निर्वाचन प्रणाली विश्वका विभिन्न मुलुकमा अपनाइन्छ । नेपालमा राष्ट्रिय सभा लगायतको निर्वाचनमा यसको प्रयोग गर्ने गरिएको पाइन्छ । यो निर्वाचन प्रणाली अत्यन्त विकसित निर्वाचन प्रणाली भए पनि सबै पक्ष र सबै ठाउँमा यो प्रयोग गर्न कठिन छ । यसको प्रयोग गर्नाको लागि सचेत र शिक्षित मतदाताको आवश्यकता पर्दछ । सामान्य मतदाताले यो प्रणालीको प्रयोग गर्न सक्तैनन् । यो प्रणाली अलि झन्झटिलो पनि छ । यसको मतगणना समेत अत्यन्त जटिल खालको छ ।

(ग) एकमुष्ट मत प्रणाली : समानुपातिक निर्वाचनको लागि यस्तो मत प्रणालीको प्रयोग पनि बहुसदस्यीय निर्वाचन क्षेत्रमा नै गरिन्छ । यो पद्धतिले प्रतिनिधित्वलाई व्यापक र समानुपातिक बनाउँछ । प्रत्येक मतदाताले जति जना उम्मेदवार निर्वाचित हुने हो त्यति नै सङ्ख्यामा मतदान गर्न पाउँछन् । यो मतदान प्रणालीमा मतदाताले सबै मत एउटै उम्मेदवारलाई दिन पनि सक्छन् वा जसलाई चाह्यो त्यसैलाई नै पनि दिन सक्छ । एउटा मतदाताले उक्त निर्वाचन क्षेत्रबाट जति जना सदस्य निर्वाचित गरिने हो त्यति सङ्ख्यामा मतदान गर्ने अधिकार प्राप्त गरे पनि सबैलाई मत नदिई आफूले चाहेको एउटा मात्र उम्मेदवारलाई मात्र मत दिन सक्ने भएकोले यसलाई एकमुष्ट मत प्रणाली भनिएको हो । यदि कुनै क्षेत्रमा पाँच जना उम्मेदवार निर्वाचित हुन्छन् भने मतदाताले पाँच वटा मतदान गर्ने अधिकार प्राप्त गर्छ । यसरी प्राप्त मत पाँच जना उम्मेदवारलाई नदिई एउटै उम्मेदवारलाई मात्र पनि दिन सक्छ , यस्तोमा अरू चार जनालाई दिन आवश्यक छैन । यसले गर्दा अल्पसङ्ख्यकको प्रतिनिधित्व हुने सम्भावना बढी हुन्छ । यस्तो मत प्रणालीबाट अल्पसङ्ख्यकको प्रतिनिधित्व हुनसक्ने सम्भावना बढी हुन्छ ।

समानुपातिक निर्वाचन प्रणालीमा मत परिणाम विभाजक सूत्र : 

समानुपातिक निर्वाचन प्रणालीमा मत गणनाको दौरानमा निम्न सूत्रहरू प्रयोग गर्ने गरिन्छ:
(क) थोमस हेयर सूत्र : यो सूत्र एकल संक्रमणीय समानुपातिक निर्वाचन प्रणालीमा प्रयोग गरिन्छ । कुनै एक उम्मेदवारलाई निर्वाचित हुन आवश्यक मत सङ्ख्या निम्नानुसारको सूत्रबाट निकालिन्छ :

जस्तैः ९ सदस्यको लागि भएको निर्वाचनमा जम्मा १००० मत सदर भएमा कुनै उम्मेदवार बिजयी हुन ल्याउनुपर्ने मत निम्नानुसार हिसाव गरी निकालिन्छ:

(ख) सेन्टलग सूत्र : यो सूत्र अनुसार प्रत्येक राजनीतिक दलले प्राप्त गरेको सदर मतलाई १, ३, ५ जस्ता बिजोडी अङ्कले आवश्यक सङ्ख्या नपुगेसम्म क्रमशः भाग गर्दै गइन्छ ।

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्धतिले श्रृङ्खलाबद्ध रूपमा भाग गरिन्छ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल(क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सिट सङ्ख्याहरू ठुलो भागफलबाट सानोलाई बाँडडफाँट गर्दै सिट नसकिँदासम्म बाँडफाँट गरिन्छ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो दलले प्राप्त गर्ने सिटको बाँडफाँट गरिन्छ । नेपालको संविधानसभा निर्वाचनमा भने बन्द सूची प्रणाली अपनाइएको र मतगणना गर्दा पहिलो पटक नै १.४ ले भाग गर्ने, अनि त्यसपछि क्रमबाट ३, ५ ले भाग गर्दै जाने खालको आफ्नै किसिमको विशेषता भएको प्रणालीको अवलम्बन गरिएकोमा २०७४ सालको आम निर्वाचनमा १, ३, ५, ७, ९, …. ले भाग गर्दै जाने विधि नै प्रयोग गरिएको थियो ।

नेपालले हाल अवलम्बन गर्दै आएको समानुपातिक निर्वाचन प्रणालीका विशेषताहरू : 

  • नेपालले मिश्रित निर्वाचन प्रणालीको अवलम्बन गरेको छ । सङ्घ र प्रदेश दुवैतिर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ६० प्रतिशत र समानुपातिक निर्वाचन प्रणालीबाट ४० प्रतिशत प्रतिनिधि निर्वाचित हुने व्यवस्था मिलाइएको छ ।
  • समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्द सूची प्रणाली अवलम्बन गरिएको छ । (स्मरणरहोस सङ्घीय संसद्तर्फ राष्ट्रिय सभाको लागि भने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको एकल संक्रमणीय मत प्रणालीको अवलम्बन गरिएको छ ।)
  • बन्द सूची पेस गर्दा पनि समावेशिताको सिद्धान्त अवलम्बन गरिएको छ । बन्द सूची पेस गर्दा देहाय बमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नु पर्ने प्रावधान रहेको छ :–

(१) दलित   १३.८ प्रतिशत
(२) आदिवासी जनजाति   २८.७ प्रतिशत
(३) खस आर्य   ३१.२ प्रतिशत
(४) मधेसी   १५.३ प्रतिशत
(५) थारु   ६.६ प्रतिशत
(६) मुस्लिम   ४.४ प्रतिशत

यस्तो सूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा पचास प्रतिशत महिलाको नाम समावेश गर्नु पर्ने समेत प्रावधान रहेको छ ।

  • बन्द सूची पेस गर्दा कम्तीमा १० प्रतिशत उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ ।
  • बन्द सूची पेस गर्दा धरौटी बापत रु. ५० हजार लाग्ने र कम्तीमा १ सिटमा पनि उम्मेदार निर्वाचित नभए धरौटी जफत हुने व्यवस्था रहेको ।
  • सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नका लागि ३ प्रतिशत र प्रदेशसभामा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशतको थ्रेसहोल्ड राखिएको छ ।
  • राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्न समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुको अतिरिक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ पनि कम्तीमा एक सिट जित्नु पर्ने दुवै प्रावधान पुरा गर्नुपर्ने ।
  • मत परिणाम हिसाब गर्नको लागि सेन्ट लग सूत्रको प्रयोग गर्ने व्यवस्था छ । ( स्मरण रहोस् राष्ट्रिय सभाको निर्वाचनको लागि भने थोमस हेयर फर्मुलाको प्रयोग गरिने ।

समानुपातिक निर्वाचन प्रणालीका गुण र अवगुणहरुः
हाल विश्वका धेरै देशहरूमा कुनै न कुनै प्रकारको समानुपातिक निर्वाचन पद्धतिको अवलम्बन गरिएको पाइन्छ ।नेपालले पनि २०६२।६३ को आन्दोलन पछि समावेशी लोकतन्त्रको अभ्यास गर्ने क्रममा समानुपातिक निर्वाचन प्रणालीको अवलम्बन गर्दै आएको छ । संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ५८ प्रतिशत र पहिलो हुने निर्वाचित हुने तर्फ ४२ प्रतिशत निर्वाचित हुने व्यवस्था रहेकोमा हाल त्यसमा परिवर्तन गरी सङ्घीय व्यवस्थापिका तथा प्रदेश व्यवस्थापिका सबैतिर समानुपातिक तर्फ ४० प्रतिशत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ ६० प्रतिशत निर्वाचित हुने व्यवस्था गरिएको छ ।

आम निर्वाचनको लागि प्राय सबैतिर सूची प्रणाली नै प्रयोग गरिन्छ । तसर्थ समानुपातिक निर्वाचन प्रणालीका गुण, अवगुण औँल्याउने क्रममा प्रायः सूची प्रणालीमा नै केन्द्रित हुने गरेको पाइन्छ । समानुपातिक निर्वाचन प्रणालीका गुण, अवगुणहरूलाई बुँदागत रूपमा निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ :

समानुपातिक निर्वाचन प्रणालीका गुण एवं सबल पक्षहरू : 

  • लक्षित वर्ग र समुदायको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्दछ । यसले विविधताको व्यवस्थापनमा सघाउँछ ।
  • मतदाताको मत खेर नजाने, सबै मतको उचित मूल्याङ्कन हुने ।
  • निर्वाचित प्रतिनिधिमा निर्वाचन क्षेत्रगत भावना हटी राष्ट्रिय भावनाको विकास हुने ।
  • सरल निर्वाचन प्रणाली ।
  • चुनाव जित्न गरिने अनियमितता, धाँधली र पैसा खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुन्छ ।
  • अल्पमतको उचित प्रतिनिधित्व गराउँछ ।
  • व्यक्तिगत खर्च नहुने ।
  • व्यवस्थापन सरल हुन्छ ।
  • उपनिर्वाचनको आवश्यकता नहुने भएकोले मितव्ययी प्रणाली ।
  • द्वन्द्व व्यवस्थापन गर्न सजिलो हुने ।

समानुपातिक प्रतिनिधित्व प्रणालीका अवगुण एवं कमजोरीहरू:

  • व्यक्तिगत स्वतन्त्रताको हनन हुने ।
  • स्वतन्त्र उम्मेदवारको अस्तित्व नहुने ।
  • निर्वाचनमा दलीय नियन्त्रण बढ्ने ।
  • नेतृत्वमा निरंकुशताको सम्भावना बढ्ने ।
  • समान भौगोलिक प्रतिनिधित्व मिलाउन कठिन हुने ।
  • ठुला देशहरूको लागि अव्यवहारिक हुने ।
  • मतदाता र प्रतिनिधिहरूबिचको सम्पर्क र सम्बन्ध कमजोर हुँदै जाने ।
  • धेरै दलको प्रतिनिधित्वले Hung parliament को अवस्था सिर्जना हुने र सरकारको स्थायित्व कायम गर्न कठिनाइ ।
  • जातीय, साम्प्रदायिक र क्षेत्रीय दलको उदय र प्रभाव ज्यादा हुन्छ ।
  • दलिए दोषहरू देखा पर्दै जाने ।

निष्कर्ष
समानुपातिक निर्वाचन प्रणालीमा माथि उल्लेख गरिए अनुसार थुप्रै दोषहरू हुने भएता पनि हामीले अवलम्बन गरेको समावेशी लोकतन्त्रको आदर्शलाई व्यवहारमा उतार्न लक्षित वर्ग र क्षेत्रको यथोचित प्रतिनिधित्वको ग्यारेन्टी गर्न तथा आम मतदाताको बहुमूल्य मतलाई खेर जान नदिन एवं माथि उल्लेख गरिएका अन्य कारणहरूले गर्दा समानुपातिक निर्वाचन प्रणालीमा देखिएका कमीकमजोरीहरूलाई हटाउँदै र घटाउँदै यसलाई अघि बढाउनु आजको देशको आवश्यकता र समयको माग हो ।

Tags :
प्रतिक्रिया दिनुहोस