पर्यटन प्रवर्द्धनमा लगानी आवश्यक : नेता नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पर्यटन प्रवर्द्धनमा लगानी आवश्यक : नेता नेपाल


प्रशासन संवाददाता

२७ पुस २०७५, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवर्द्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।

गन्तब्य नेपाल न्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले बिनालगानी र मेहनत पर्यटन प्रवर्द्धन नहुने हुँदा यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार र सम्पदा प्रवर्द्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताए ।

उनले भने, ‘नेपालीको जस्तो आतिथ्यता संसारमा कहीँ पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं भौगोलिक विविधतायुक्त मुलुकले सबैभन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नुपर्छ ।’

सन् २०१८ मा करीब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो सङ्ख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवर्द्धनात्मक गतिविधि अगाडि बढाइनुपर्ने धारणा व्यक्त गरे ।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णलाई तीव्रता दिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीका रुपमा विकास गर्नसके अधिक सङ्ख्यामा पर्यटक आकर्षण गर्न सकिने उनले बताए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यावसायिक ढङ्गले प्रवर्द्धनात्मक गतिविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारीरुपमा अघि बढाइनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सरकारले लिएको ‘आर्थिक समृद्धि र सुखी नेपालीको’ नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस