सिंहदरवारमा एकीकृत सफाइ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारमा एकीकृत सफाइ


२७ पुस २०७५, शुक्रबार


सिंहदरवारमा एकीकृत सफाइ

काठमाडौँ । कार्यालयका हिसाबले निर्देशन दिए मात्रै पनि पुग्छ । पदीय हिसाबले कार्यकक्षमै बसेर पनि जिम्मेवारी निर्वाह गर्न सकिन्छ । तर यी दुवै मान्यताभन्दा माथि उठेर काम गर्दै छन् भने ती हुन् नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी तथा सहसचिव विनोद बहादुर कुँवर ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कुँवर बिहान ७ बजे सिंहदरवार आई पुग्छन् अनि महानगरबाट आइपुगेका सरसफाइ उपकरणसहित मन्त्रालयहरूको सफाइमा जुट्छन् ।

सिंहदरबार व्यवस्थापन सम्बन्धमा भदौ ३१ गते मुख्यसचिवको संयोजकत्वमा बसेको सरोकारवालाहरूको बैठकको बुँदा नं २३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय अनुसार कुँवरको संयोजकत्वमा ‘सिंहदरवार परिसर अनुगमन समिति’ गठन गरेपछि उनको दैनिकी फेरिएको हो ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरगवारलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्येश्य अनुसार भदौ २३ गतेको मुख्यसचिव स्तरीय बैठकले सार्वजनिक गरेको २६ वटा सुधारका योजनाहरू अन्तर्गत पुस २० गते सिंहदरवार परिसर व्यवस्थापन सम्बन्धमा गठित सिंहदरवार परिसर अनुगमन समितिको बैठकले माघ २० गते भित्र प्रत्येक मन्त्रालय तथा परिसरको सरसफाइका अतिरिक्त सवारी साधनको समग्र व्यवस्थापन गर्ने प्रतिबद्धता गरेसँगै अभियान तीव्र पारिएको छ ।

सिंहदरवार व्यवस्थापनअन्तर्गत कतिपय कार्य सम्पन्न भइसकेका छन् भने कतिपय दिनरात गरी पुरा गरिँदै छ । यसैअनुसार सिंहदरवार परिसर भित्र रहेका मन्त्रालय, आयोग, विभाग सचिवालय गरी ३२ वटा निकायमा हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पानीको फोहोराबाट सफाइ गर्ने कार्यतालिकाअनुशार नै हाल सरसफाइको कार्य तिव्रगतिमा भइरहेको छ ।

यसका लागि सम्बन्धित मन्त्रालयका प्रशासन तथा आन्तरिक प्रशासन हेर्ने उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको छ । हरेक दिन मन्त्रालयमा गरिने सफाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखाबाट दुई जना कर्मचारी खटिने गरेका छन् ।

नियमित सेड्यूयल अनुसार पहिलो दुई दिन आफैलाईसमेत पालोमा राखेर सरसफाइमा जुटेका कुँवर हरेक दिन जसो आफै खटेको देखिन्छ । विहिबारमात्रै कृषि मन्त्रालयको सरसफाइमा सहसचिव कुँवरले आफै कार्यालय सफा गरिरहेका भेटिए । महानगरबाट खटिएका कर्मचारीलाई हौस्याउँदै र सम्बन्धित मन्त्रालयका कर्मचारीलाई ‘भनेर होइन, गरेर देखाए अवश्य सफल भइन्छ’ भन्दै आफैले शुरु गरेर उनीहरूलाई पनि उत्साहका साथ सहभागी गराउन तल्लीन देखिन्थे ।

कृषि मन्त्रालय सफा गर्दै प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद वहादुर कुँवर

 

महानगरबाट आएको टिम तथा कृषि मन्त्रालयका प्रनिनिधिसँग छलफल गदै कुँवर

कुँवर आफैले फोहोरा हानेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव नवराज गौतमले पनि सफाइमा सघाए ।

प्रधानमन्त्री कार्यालयका सहसचिवले फोहोरा हानेपछि आफू पनि सरसफाई गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव नवराज गौतम

धुलो तथा मैलाले स्वरूप नै बिगारेका कार्यालयहरू सफा र चिटिक्क देखिएपछि सफाइ गर्नै पर्ने रहेछ भन्ने महसुस भएको सहसचिव गौतमले प्रशासनसँग बताए ।

‘धेरै देखि सफाइ भएको थिएन’ गौतमले भने, एकिकृतरुपमा सुरु गरिएको सरसफाइले पक्कै पनि सिंहदरवार परिसरलाई सफा बनाउने छ ।’

विदेशी निकायबाट आउने प्रतिनिधिहरूबिच औपचारिक रूपमा वार्ता गर्ने ठाउँ सिंहदरवार नै भएकोले पनि सिंहदरवारको सफाइ अति आवश्यक रहेको उनले बताए ।

‘संसारभरि हाम्रो इमेज पनि देखाउने ठाउँ भएकोले यो चाहिँ आवश्यक थियो’ उनले भने, ‘सिंहदरवारभित्रको सरसफाइलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्री कार्यालयबाट भएको जुन इनिसियसन, हामी त्यसको पछिपछि छौँ ।’

आफू बस्ने कार्यालयको सरसफाइ सम्बन्धित कार्यालयले नै गर्नुपर्ने हो तर त्यसका लागि पनि प्रधानमन्त्री कार्यालयले नै आएर सफा गरिदिनु पर्ने ? के यसपछि अब यसको निरन्तरता दिने पक्षमा हुनुहुन्छ भन्ने प्रश्नमा सहसचिव गौतमले भने

‘निरन्तरता दिनुपर्छ, दिन्छौँ ।’ उनले थपे ‘भोलिका दिनमा हामी होऔँ या नहोऔँ जो आउँछ सरसफाइको अभियानलाई एकबद्धभएर अघि बढ्नु पर्छ ।’

उनले आफू बस्ने ठाउँ सफा भएमा सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने बताउँदै यो अभियानलाई प्रदेश र स्थानीयतहरुमासमेत विस्तार गर्नुपर्ने बताए ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवाबाट देशका अन्य निकायहरूले पनि सिक्न सक्ने ठाउँ भएकोले यसको सफाइ आवश्यक रहेको मन्त्रालयका उपसचिव दिर्घराज उपाध्यायले बताए ।

‘प्रमुख केन्द्रलाई सफाइ गर्न सकियो भने प्रदेश तथा जिल्लातर्फ पनि यसको सकारात्मक सन्देश जान्छ,’ उपाध्यायले भने, ‘सबैले जिम्मेवारी लिएर यो अभियानलाई निरन्तरता दिनुपर्छ ।’

पहिलो चरणका लागि प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपनि यसपछि प्रत्येक मन्त्रालयले आफैले निरन्तररुपमा गर्नुपर्ने उनको भनाई छ ।

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरवार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले पनि सफा, सुन्दर र व्यवस्थित रहनुपर्ने र मुहानबाटै सफा गर्दा त्यसको प्रभाव तलसम्म पर्ने भएकोले पहिलो चरणमा सिंहदरवारलाई व्यवस्थित गर्न सुरु गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्त्ता तथा सिंहदरवार परिसर अनुगमन समितिका संयोजक विनोद बहादुर कुँवरले बताए ।

‘प्रधानमन्त्रीज्यूबाटै चासो व्यक्त भएको र मुख्यसचिवज्यूले नै अग्रसरता लिएकोले सिंहदरवारलाई तोकिएकै समयावधिभित्र व्यवस्थित बनाई सक्ने योजनामा लागिरहेका छौँ’ संयोजक तथा प्रवक्त्ता कुँवरले भने, ‘सबै सचिवज्यूहरूबाट सक्रियरुपमा साथ र सहयोग भएकोले पनि अझ सहज भएको छ ।’

समितिका सदस्यहरू लगायत टिम तथा सबै मन्त्रालय सक्रियताका साथ जुटिरहेकोले हेर्दाहेर्दै सिंहदरवारको स्वरूप फेरिनेमा आफू विश्वस्त रहेको कुँवरको भनाई छ ।

कर्मचारीहरू अधिकांश समय कार्यालयमा बस्छन् तर महत्त्वपूर्ण समय कार्यालयमा बिताउने कर्मचारीहरू आफू बस्ने ठाउँ सफा हुनुपर्छ भन्नेतर्फ आजसम्म कसैको पनि ध्यान पुग्न नसक्नु विडम्बना हो ।

सरसफाइ जस्तो आधारभूत कुराहरूमा पनि अरूको निर्देशन पर्खिने र भनेपछि मात्रै गर्ने कुरा होइन । गर्न नहुने काम जानकारी नै नदिई पहिल्यै गरिसक्ने र जुन गर्नै पर्ने छ त्यसका लागि अरूले आएर सुरु गरिदिनु आफैमा लज्जास्पद पनि ।

ढिलै भए पनि सकारात्मक प्रयास सुरु भएको छ । मुलुकको प्रशासनिक ऐनाका रूपमा रहेको सिंहदरवार साच्चिमै सफा, सुन्दर र व्यवस्थित होस् । अनि देशभरका निकायहरूले सिंहदरवारबाट सिकेका कुराहरू आ-आफ्नो कार्यालयमा लागू गर्न सकुन् ।

र यो पनि,

सिंहदरवारमा बृहत्तर सफाइ(फोटो फिचर)

Tags :
प्रतिक्रिया दिनुहोस