भटमासको व्यावसायिक खेती प्रवर्द्धन गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भटमासको व्यावसायिक खेती प्रवर्द्धन गरिने


२४ पुस २०७५, मंगलबार


काठमाडौं । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवर्द्धन गरिने भएको छ । कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवर्द्धनको योजना बनाइएको बाली विकास तथा कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताए । उनले भने, ‘किसानले आफूलाई चाहिने जति भटमास रोपेपनि बेच्नकै लागि भने रोपेको पाइँदैन ।’

भटमासको उपयोगबारे किसानलाई बुझाउन, यसबाट तेल बनाउन र खाद्यन्नकै रूपमा प्रयोग गर्नाका लागि उत्पादनमा आकर्षित गर्न सके आयात कम हुने वरिष्ठ बालीविज्ञ आचार्यले उल्लेख गरे । भटमासको उपयोग नेवार समुदायले बढी गर्छन् भने ग्रामीण क्षेत्रमा तरकारी र खाजाको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । शहरी क्षेत्रमा यसको प्रयोग पहिले भन्दा बढेकाले यसको आयात बढेको हो ।

उनले भने, ‘किसानलाई कसरी थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने र कसरी बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउनपर्छ ।’निर्देशनालयले मुख्य बालीको प्रवर्द्धनसँगै रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिले जिल्ला कृषि विकास कार्यालयमार्फत कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस