स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण


प्रशासन संवाददाता

२३ पुस २०७५, सोमबार


डाक्टर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको औषधि परामर्श परिषद्को १५औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति गठन तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीच छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्नेमा जोड दिँदै औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन निर्देशन दिए । उनले औषधि उत्पादकको गुनासोलाई ध्यानमा राखेर स्वदेशी उद्योगलाई संरक्षण गरी गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्दै लैजान तथा आयातलाई थप व्यवस्थित गर्न निर्देशन दिए ।

उपप्रधानमन्त्री यादवले औषधि व्यवसायीले गुणस्तरीय उत्पादन बढाउन ध्यान दिन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई तलमाथि नगरी अघि बढ्न, अनुमतीपत्र र नवीकरण गर्ने जटिलता हटाइने तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिइने जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस