कञ्चनपुरको उखु भारत निर्यात « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कञ्चनपुरको उखु भारत निर्यात


२३ पुस २०७५, सोमबार


भीमदत्तनगर । उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ ।

स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् ।

दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन नसकेको बताए ।

“भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधारा चाँदनीका किसान उखु बिक्री भारतमै गर्छन् ।” उनले भने, “भारतीय गुड यहाँको भन्दा सस्तो भएकाले पनि स्थानीय उद्योग फष्टाउन सकेनन् ।” भारतीय बजारमा उखु मूल्य प्रतिक्विन्टल ४०० भारुमा बिक्री हुन्छ, भने नेपाली बजारमा रु ४०० नेपालीमा बिक्री हुने गरेको छ । उद्योग सञ्चालन गरेका चदारोले आफूले पनि तीन बिघा जमीनमा उखुखेती गरेको बताए ।

“उखुको उचित मूल्य निर्धारण नहुनुले पनि किसान मारमा परेका छन् ।” उनले भने, “स्थानीय उद्योगलाई सहयोग पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्छ ।” उनका अनुसार भारतीय गुड प्रतिकिलो रु २० र नेपाली गुड रु ४० मा बिक्री भइरहेको छ । १५ जनालाई उद्योगमा रोजगारी समेत दिएका चदारोले गुडबाट वार्षिक रु एकलाखभन्दा बढी मुनाफा भइरहेको बताए । उखुबाट राम्रो आम्दानी हुन थालेपछि दोधारा चाँदनीमा अधिकांश किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस