माघ ७ गते, २०७५

मुलुक उन्नतिको मुख्य बाधक भ्रष्टाचार; नेपालको सन्दर्भमा एक अभिषाप

हरेक नेता वा कर्मचारीको आदर्शवादी वाक्य बनेको छ भ्रष्टाचार नियन्त्रण शब्द नसुन्ने वा नबुझ्ने सायद कोही छैन होला । देशमा विकास भएन, घुस कमिसन बढ्यो, कालोबजारी बढ्यो,सिन्डिकेट व्याप्त छ, नेताहरू भ्रष्ट भए, कर्मचारीहरू घुस नलिई काम गर्दैनन् जस्तै अन्य नैराश्यताका वाक्यहरू आम जनताबाट सधैँ सुनिने गर्दछन् । वास्तवमा भ्रष्टाचार कुनै एक अमुक समाज वा मुलुकको रोग नभई विश्वव्यापी भयावह क्यान्सर रोग हो । विकसित देशमा जनता टाठाबाठाँ हुने र सरकार सञ्चालनको उपयुक्त प्रणाली हुने हुँदा विकसित देशको तुलनामा बिकासोन्मुख र अविकसित देशमा बढी भ्रष्टाचार हुन्छ । अझ दलाल पुँजीवादी अर्थव्यवस्था भएका मुलुकमा भ्रष्टाचार नै हुँदैन भन्दा पत्याउन गाह्रै हुन्छ । विकासोन्मुख मुलुक राज्यको ढुकुटीको नियन्त्रण दलालकमिशन एजेन्टको हातमा रहने हुँदा भ्रष्टाचारको स्वरूप फरक र अदृश्य हुन्छ । नीतिगत, विधिगत र मिलिभगरुपमा राज्यको ढुकुटी स्वाहा हुँदै गइरहेको आम नागरिकलाई पत्तो समेत हुँदैन । विश्वका विभिन्न मुलुकका राष्ट्रपति/प्रधानमन्त्री लगायत मन्त्रीहरू र उच्च पदस्थ कर्मचारीहरुलाई सत्ता पदमुक्त पश्चात् लाग्ने अभियोगबाट यस कुराको पुष्टि गर्न सकिन्छ ।

भ्रष्टाचार एक भयानक र डरलाग्दो श्वेत: अपराध हो । भ्रष्टाचार, सत्ता र कानुनी शक्ति सम्पन्न पदाधिकारीसँगको मिलेमतोमा हुने गर्दछ । साना तिना बिल मिलाउने, साना तिना घुस लिने दिने जस्ता पेटी करप्सन सानो सानो एकाई वा व्यक्तिगत रूपमा हुन्छ भने ठुला ठुला ग्रान्ड पोलिसि करप्सन एक्लै हुन सक्तैन र यसमा राज्यका कानुनी वैधता प्राप्त शक्ति सम्पन्न सार्वजनिक पदाधिकारी, निकाय वा कुनै अमुक समूह र दलाल एजेन्टको प्रत्यक्ष संलग्नता रहने गर्दछ । निजी क्षेत्र बजारमा हुने भ्रष्टाचार फरक प्रकृतिको हुन्छ । निजी बजारमा विचौलिया समेतको मिलेमतोमा कर छली, कालोबजारी, मानव बेचबिखन, तस्करी, सिन्डिकेट, कार्टेलिङ, अधिक मुल्यवृद्वि जस्ता माध्ययमबाट अनौपचारिक बजारिया छाया अर्थतन्त्र खडा गरी राज्यको औपचारिक अर्थतन्त्र कमजोर भई मूलतः: सरकार कमजोर बन्दै जान्छ । त्यस्तै सरकारी क्षेत्रमा राज्यका पदा सिन सार्वजनिक लाभको पदमा रहेका पदाधिकारीकै हातमै राज्यको अर्थव्यवस्था सञ्चालन गर्ने कानुनी वैधता साँचो प्राप्त हुँदाबिचौलिया समेतको संलग्नतामा खरिद बिक्री, टेन्डर, पूर्वाधार निर्माण सञ्चालन, कन्सल्टेन्सी आदीमाध्ययमद्वारा मनोमानी रूपमा ठुलो रकम राज्यकोषबाट दुरुपयोग भई अर्थतन्त्रमा नकारात्मक असर परिरहेको हुन्छ ।

पछिल्लो समयमा क्राइसिस स्टेट्स रिसर्च सेन्टरले प्रकाशित गरेको असफल राष्ट्रको सूचीमा नेपाललाई सावधानी अपनाउनुपर्ने(अलर्ट) वर्गमा राखेको छ । यी तथ्यहरूले नेपालको गिर्दो अवस्थाको सङ्केत गरिरहेका छन् तर, विडम्बना हाम्रा नीति निर्माताहरू र कानुन कार्यान्वयनको वैधता प्राप्त गरेका कर्मचारी तथा पदाधिकारीहरू गम्भीर भएको अवस्था देखिँदैन । नेपालमा भ्रष्टाचार मौलाउँदै जानुको मूल कारणमा घूसलाई न्यून पारिश्रमिकको बोनसका रूपमा लिने कर्मचारीको गलत प्रवृत्ति, बजार व्यापारीका लागि कर छल्ने, कालो बजार कार्टेलिङ्ग र सिन्डिकेट सहित बजार कब्जा गरी रातारात धनी बन्ने अस्त्र र राजनीतिक दल र नेताका लागि ‘पार्टी कफर’ भर्ने बहाना भएको छ ।

मानिसको मुख्य उत्प्रेरक भनेकै व्यक्तिगत स्वार्थ र लोभ हुन् । नैतिक मूल्यलाई कम महत्त्व दिने हाम्रो जस्तो समाजको संस्कृति पनि भ्रष्टाचार बढाउनमा प्रमुख भूमिका खेलिरहेका छन् । पदमा हुँदा राम्रो बन्दोबस्त गर्न नसक्नेलाई ‘हुतिहारा’ को संज्ञा दिने हाम्रा समाजका छिमेकीहरू भ्रष्टाचारका लागि त्यतिकै बढी जिम्मेवार रहनुपर्छ । पछिल्लो समयमा नेता र उच्च पदस्थ कर्मचारीहरूमा बिचौलिया भ्रष्टलाई काखी च्याप्ने र राजनीतिक पेसालाई कमाऊ पेसाको रूपमा उपयोग गर्ने गलत प्रवृत्ति बढ्दै गएको छ । दलका नेताका लागि भ्रष्टाचार एक उपयोग फण्ड नाम दिएर श्वेत: भ्रष्टाचार गर्ने राम्रो र अति उत्तम बहाना त छँदै छ, त्यस्तै कर्मचारीका लागि पनि घर चलाउने र छोराछोरीई उच्च शिक्षा पढाउने राम्रो बहाना हुने गर्दछ । उदाहरणका लागि पदमा पुगेका सबैको जीवनस्तर हेर्दा छर्लङ्गै हुन्छ । राजनीति गर्न घर खेत गर्ने नेताहरू कति छन् र बाउवाजेको सम्पत्ति नबेची काठमाण्डौमा घर ठड्याउने कर्मचारी कति छन् नेपालमा ? यसलाई सहजै हिसाबको आकार निर्माण गर्न सकिन्छ किनभने नेपाल सानो छ । बरु अबको डर भनेको ‘क्लिप्टोक्रेसी’ तिर देश जाने हो कि भन्ने पनि छ । यसले यस्तो शासनलाई अर्थ्याउँछ, जहाँ शासक र उच्च पदाधिकारीहरूको पहिलो लक्ष्य पदीय सत्ता र शक्ति व्यक्तिगत लाभका लागि धन आर्जनमा लगाउनु भन्ने हुन्छ ।

अन्तर्राष्ट्रिय रूपमा १७ ठुला र चर्चित भ्रष्टाचार केशहरू;
विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँ पनि राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाइँदैन । क्लिप्टोक्रेसीसंग जोडिएका विश्वका ठुला भ्रष्टाचार काण्डबाट हामी नेपालीले पक्कै भ्रष्टाचार कसरी हुँदो रहेछ भन्ने विषय राम्ररी बुझ्न सक्छौ ।

१- निकागुराका राष्ट्रपति आर्नल्डो आलेमनलाई ५ वर्षको सत्ता अवधिमा सरकारी कार्ड व्यक्तिगत खर्च प्रयोजनमा प्रयोग गरेको, इटली हनिमुनमा रहँदा प्रति दिन २६ हजार डलर राज्यकोषको रकम खर्च गरेको, बिदा लिई पत्नीसङ भारत भ्रमणमा रहँदा प्रति दिन ६९ हजार डलर खर्च गरेको र राज्यकोषबाट रकम दुरुपयोग गरी व्यक्तिगत कम्पनीमा लगानी गरी १ अर्ब डलर हिनामिना गरेको आरोपमा सन् २००९ मा अदालतद्वारा २० वर्षको जेल सजाय सुनाइयो ।

२- युक्रेनका प्रधानमन्त्री पाब्लो लजर्नेलाई १ वर्षको सत्ता अवधिमा राज्यकोषको दुरुपयोग गरी अमेरिकाको सेल कम्पनी मार्फत पोल्यान्ड, स्वीजरल्यान्ड, अन्टेगुवाका विभिन्न कम्पनीमा लगानी गरेको, स्वीस बैकमा रकम जम्मा गरेको लगायत २ अर्ब डलर हिनामिना आरोपमा सम्पत्ति शुद्वीकरण र वायर फ्रड केशमा सन् २००९ मा ८ वर्ष जेल सजाय सुनाइयो ।

३- पेरुका आदर्शवादी राष्ट्रपति अल्वर्टो फुजीमोरीलाइ १० वर्षको सत्ता अवधिमा सार्वजनिक कोषबाट ६ अर्ब डलर रकम हिनामिना गरेको आरोपमा सन् २००९ मा ७ वर्ष जेल सजाय सुनाइयो ।

४- हैटीका युवा राष्ट्रपति जीन क्लाउडलाई स्वीस बैकमा व्यक्तिगत जम्मा गरेको, नार्कोटिक व्यापारमा लगानी गरेको लगायत राज्यकोषबाट ८ अर्ब डलर हिनामिनाको आरोपमा सन् २०११ मा ८ वर्षको जेल सजाय सुनाइयो ।

५- सर्वियाका राष्ट्रपति स्लोबाडेन मिलासेविकलाई ११ वर्ष सत्ताको अवधिमा युद्वताका सत्ता र शक्तिको दुरुपयोग गरी राज्य कोष हिनामिना गरी क्रिप्टो कम्पनी मार्फत स्वीजरल्यान्ड, जर्मनी, फ्रान्स, रुस, चीन जस्ता देशमा १ अर्ब डलर लगानीको आरोपमा सन् २००६ मा भ्रष्टाचार अभियोग लगाइयो ।

६- ट्यूनिसियाका राष्ट्रपति जीन अल अविदिनलाई २३ वर्ष सार्वजनिक पदमा रहँदा सत्ता र शक्तिको दुरुपयोग गरी राज्यकोषको रकम व्यक्तिगत ५५० निजी सम्पत्ति, ४८ डुङ्गा, ४० शेयर कम्पनी, ४०० उधोगमा लगानी र ४६७ वटा बैक खातामा रकम जम्मा लगायत ३ अर्ब डलर हिनामिनाको आरोपमा भ्रष्टाचार अभियोग लगाइयो ।

७- नाइजेरियाका राष्ट्रपति सैनिक शासक सानी अवाचालाई सत्तावधि ५ वर्षको अवधिमा राज्यकोषको ५ अर्ब डलर रकम दुरुपयोग हिनामिना गरी विदेशी कम्पनीहरूमा लगानी गरेको भनी सन् १९९८ मा भ्रष्टाचारको अभियोग लगाइयो ।

८- अफ्रिकाका विग म्यान भनेर चिनिने कंगोका राष्ट्रपति मोबोटु सेसे सेकोलार्इ कार्यरत ३२ वर्ष सत्तावधिमा राज्यकोषको रकम ५ अर्ब डलर रकम हिनामिना गरेको आरोपमा सन् १९९७ मा भ्रष्टाचार मुद्वा दायर गरिएको थियो ।

९- फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसलाई २१ बर्से शासनवधिमा राज्यकोषबाट १० अर्ब डलर अपचलन गरी व्यक्तिगत लाभका लागि निजी कम्पनीहरुमा लगानी गरेको आरोपमा सन् १९९० मा १२ वर्षको जेल सजाय सुनाइयो ।

१०- इन्डोनेसियाका राष्ट्रपति मोहम्मद सुहार्तोलार्इ कुल सत्तासीन अवधि ३१ वर्षमा राज्यका ७ वटा च्यारिटी कोषबाट ३५ अर्ब डलर रकम दुरुपयोग गरी निजी लाभका लागि प्रयोग गरेको आरोपमा सन् २००७ मा भ्रष्टाचारको मुद्वा लगाइयो ।

११- दक्षिण कोरियाका राष्ट्रपति लिम्यूङ्ग ज्याकोव जुमालाई सन् १९९९ मा उप राष्ट्रपतिको प्रदेश मन्त्री हुँदाको कार्यकालमा हातहतियार खरिद सम्झौतामा २ अर्ब डलर घोटाला भ्रष्टाचारको अभियोगमा १५ वर्ष जेल सजाय सुनाइएको थियो ।

१२- निकागुराका पूर्व राष्ट्रपति आर्नेडो आलेमनलाई सन् २०१२ मा १ अर्ब डलर रकम राज्यकोषबाट हिनामिना दुरुपयोग गरेको आरोमा भ्रष्टाचार मुद्वा लागेको थियो ।

१३- दक्षिण कोरियन नेता तथा पूर्व पहिलो कोरियन महिला राष्ट्रपति पार्क गिउन हेईलाई सत्तासीन समयमा पदीय दुरुपयोग गरी १८ वटा विभिन्न कम्पनी स्थापनाको डिलहरूमा छोरीलाई समेत उपयोग गरी १७ लाख अमेरिकी डलर घुस लिएको आरोपमा २०१८ अप्रिलमा भ्रष्टाचार अभियोगमा मुद्वा दायर भएको छ ।

१४- मलेसियाका पूर्व उपप्रधानमन्त्री अहमद जाहिद हमिदीलाई ४५ वटा केशमा राज्यकोषबाट २७.५ लाख डलर दुरुपयोग हिनामिना गरेको आरोपमा २०१८ अक्टोबरमा भ्रष्टाचार मुद्दा लगाइएको छ ।

१५- मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमा मन्सुरलाई मलेसियामा विधालय लगायत विभिन्न परियोजना मिलाउन र विभिन्न कम्पनीहरू स्थापना गर्दा १ अर्ब २५ करोड रिङरेट अर्थात् २ लाख ९८ करोड डलर घुस लिएको आरोपमा २०१८ नोभेम्बरमा भ्रष्टाचार अभियोगमा मुद्वा दायर गरिएको छ ।

१६- चिनिया कम्युनिस्ट पार्टीका सी जिनपिङ् पछिका प्रभावशाली उच्च नेता सन जेङ्काईलाई सन् २००२ देखि सन् २०१७ सम्म १७ लाख अमेरिकी डलर विभिन्न कम्पनी स्थापना गर्ने क्रममा घुस लिई उक्त रकम चीन बाहिरका विभिन्न देशका बैकमा जम्मा गरेको आरोपमा २०१८ अप्रिल १२ मा जन्मकैदको सजाय सुनाईयो ।

१७- पाकिस्तान विपक्षी पार्टीका नेता शेहवाज सरिफलाई पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा आशियना नामको हाउजिङ् प्रोजेक्टलाई कम मूल्य लागतमा पास गरी भ्रष्टाचार गरेको आरोपमा २०१८ अप्रिलमा पक्राउ गरी मुद्वा अभियोजन गरिएको छ । उनका दाजु पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाफ सरिफलाई सन् २०१७ मा भ्रष्टाचार मुद्वामा पाकिस्तान उच्च अदालतले १० वर्षको जेल सजाय सुनाईसकेको छ ।

भ्रष्टाचारको स्वरूप र भ्रष्टाचारीका प्रकार
ठुला भ्रष्टाचारहरू माथिल्ला तहका राजनीतिक नेतृत्व र उच्च तहका कर्मचारीहरूबाट नै हुन्छ । नीतिमा सानो सानो परिवर्तन गरेर यिनीहरू अमूक वर्गका हितमा काम गर्न सक्ने सामर्थ्य राख्छन् । नीति निर्माण तहमा रहेकाबाट नै भ्रष्टाचार हुने र अदृश्य भ्रष्टाचार हुने हुँदा यसको अनुसन्धान प्रक्रियामा बढी जटिलता नै हुन्छ । तर खुला र सानो स्केलको भ्रष्टाचार प्रायः जनतालाई प्रत्यक्ष रूपमा सेवा दिने कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरूबाट हुने गर्छ । यस्तो प्रकारको घुस तथा भ्रष्टाचारमा डिस्काउन्ट रेटको बढी प्रयोग हुन्छ । यस्तोमा घुसको रकम ठुलो नभए पनि सिधै जनताको खल्तीबाट अतिरिक्त रकम जाने हुँदा आम नागरिकको चर्को आलोचना हुन्छ र भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूको कारबाहीमा पनि यिनै पर्छन् ।नेपालमा भ्रष्टाचारको अर्को विशेषता के देखिन्छ भने यो तहगत सोपानमा तलदेखि माथिसम्म अर्थात् पेलिकन डक प्रणालीमा बाँधिएको देखिन्छ । पेलिकन डकले दिउँसोभरि साना माछाहरू आफ्नो घाँटीमा जम्मा गर्छ र बेलुका मालिकले माछा ओकल्न लगाउँछ । त्यस्तै सङ्कलन केन्द्रहरूबाट संकलित रकम तहगत रूपमा वितरण हुने कुशल संयन्त्र मिलाइएको देखिन्छ ।

भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरू पनि विभिन्न चरित्र प्रकारका हुन्छन् । पहिलो प्रकारका जुवाडे खालका हुन्छन् । यस्ता भ्रष्टाचारीहरू अवैधरूपमा धन कमाउन जस्तोसुकै जोखिम लिन तयार हुन्छन् र बजारिया दलालहरूसँग साथ हुन्छ । दोस्रो प्रकारका भ्रष्टाचारीहरू बढी जोखिम लिन चाहँदैनन् र जे जति हुन्छ चित्त बुझाउँछन् । यिनीहरू प्रत्यक्ष देखिन चाहँदैनन् र सञ्जालमा केही मात्रामा जोडिन रुचाउँछन् । तेस्रो प्रकारका भ्रष्टाचारीहरू बढी निपुण खेलाडी हुन्छन् । यिनीहरू बजार कार्यालय कतै देखिँदैनन् र बार्गेनिङ्गको लागि विश्वासिलो संयन्त्रको प्रयोग गर्दछन् ।
स्पष्ट रूपमा भन्ने हो भने नेपाल भ्रष्टाचारको गहिरो भासमा परिसकेको छ । नेता, कर्मचारी मात्र होइन निजी क्षेत्र र गैरसरकारी क्षेत्र सबै यसको चक्रव्यूहमा फसिसकेका देखिन्छन् । भ्रष्टाचार नियन्त्रण विना वा सुशासन कायम विना देशले काँचुली फेर्ला भन्ने आशा गर्न सकिँदैन । यो क्यान्सरजस्तै फैलिएकोले समयमै निराकरण नगर्ने हो भने देश असफल राष्ट्रमा भासिने सम्भावना रहन्छ । भ्रष्टाचार नियन्त्रणमा सराहनीय काम गरेका मलेसिया, सिङ्गापुर र हङकङजस्ता मूलकबाट शिक्षा लिनु आवश्यक छ । सन् १९६० सम्म भ्रष्ट देशको सूचीमा रहेको हङकङले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय आईसीएसीको गठनपछि शून्य सहनशिलतामा आधारित तीन रणनीति- ‘दण्ड, निरुत्साहन र शिक्षा’ अवलम्बन गरी ठुलो उपलब्धि हासिल गर्न सक्यो । उसले साना भ्रष्टाचारमा भन्दा ‘ठुला बाघ’ हरूलाई कारबाही गर्नेमा जोड दियो । त्यस्तै सिङ्गापुरको सीपाआईबीले तलब वृद्धिका साथै निगरानी, जिम्मेवारी हेरफेर, हटलाइन आदिमा जोड दिने रणनीति अवलम्बन गरेर सफलता हात लगायो ।

भ्रष्टाचार नियन्त्रण नगरी मुलुक उन्नति नै सम्भव छैन
नेपालको सन्दर्भमा भ्रष्टाचार नियन्त्रणको उपयुक्त पहल लिने बेला भइसक्यो । ठुला माछालाई कार्यवाहक नहुने व्यङ्ग्यका रूपमा आम नागरिकबाट समय समयमा आक्रोश आउने पनि गर्दछ । देश विकासको मूल बाधकको रूपमा रहेको भष्टाचार नियन्त्रणलाई सरकारले मूल मुद्वा बनाउनु आवश्यक छ । पारदर्शी, उत्तरदायी, जनमुखी एवम् कानुनसम्मत शासन प्रणालीको स्थापना गरी शासन सञ्चालन गर्नु जनउत्तरदायी सरकारको प्रमुख दायित्व हो ।

जबसम्म जनताले हिजोसम्म भोगी आएका भ्रष्टाचारका समस्या जस्ताको तस्तै रहन्छ, जबसम्म सरकारी संयन्त्रको मनोवृत्तिमा परिवर्तन भएको महसुस जनताले गर्न पाउँदैनन्, जबसम्म हिजोभन्दा आज छिटो र कम लागतमा काम भएको बोध हुँदैन र दलाली कमिशनतन्त्रको अन्त्य हुँदैन, तबसम्म युगान्तकारी परिवर्तन जनताको निम्ति सार्थक परिवर्तन हो भन्ने आभास हुन सक्दैन । यसले गर्दा जनताको मनमा विगतमा विकसित सरकार र शासकीय प्रणाली प्रतिको नकारात्मक सोचमा कुनै तात्विक भिन्नता आउन सक्दैन । अर्थतन्त्रलाई समृद्व नेपाल र सुखी नेपाली बनाउने आधारसित जोडेर हेर्ने हो भने राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ। त्यसैले मूलक विकास गर्ने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन।

यस बारेमा गहन सोच राखी भ्रष्टाचार नियन्त्रणमा आफ्नो र अर्को पार्टी नभनी भ्रष्टाचारको दृष्टिकोणले अत्यन्त संवेदनशील क्षेत्रका रूपमा पहिचान भएका क्षेत्रहरूलाई सदाचारको टापुको रूपमा विकास गरी भ्रष्टाचार नियन्त्रणको विकल्प छैन । जनतालाई सरकारले केही गर्छ है भनेर देखाउन ढिला गर्न हुँदैन ।

भण्डारी नेपाल सरकारका उपसचिव हुन् ।

पौष २२ गते, २०७५ - ०७ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg