एउटा थाङ्ने कर्मचारीको अपुरो सपना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एउटा थाङ्ने कर्मचारीको अपुरो सपना


कृष्णप्रसाद पराजुली

२१ पुस २०७५, शनिबार


थाङ्ने कर्मचारी

पश्चिम नेपालको गुल्मी जिल्ला, धेरैले यो जिल्लालाई लोकसेवाको उर्वर भूमी पनि भनेर चिन्ने गर्छन् । मध्यम वर्गीय समुदाय पनि भएर होला धेरैको जीवन निर्वाहको मुख्य श्रोत नै सरकारी सेवा रहेको छ । केही हुने खाने परिवार व्यापार व्यवसायमा छन् । केही युरोप अमेरिका तिर छन् । केही युवाहरू जीवन गुजार्नको लागि मरभूमीका देशहरूमा रगत र पसिना बगाउन बाध्य छन् । धेरैजसो पढेलेखेका युवाहरूको प्रमुख रोजाई भने सरकारी सेवा रहेको छ ।

यही पृष्ठभूमिमा गुल्मी जिल्लाको पश्चिम विकट गाउँ भनभनेमा आज भन्दा २८ वर्ष पहिले एक जना थाङ्ने बच्चाको जन्म भयो । (कर्मचारीलाई आजभोलि नथाङ्नेहरुले थाङ्ने उपमा दिएका छन् । आजको थाङ्ने कर्मचारी सानोमा पनि थाङ्ने नै थियो भन्ने आशयले बच्चालाई थाङ्ने उपमा दिइएको हो )। थाङ्ने बालक गाउँको ढुङ्गा-माटो सँग लडीबुडी गर्दै हुर्कँदै गयो । गाउँकै थाङ्ने स्कुलमा आफ्नो पढाई सुरु गर्‍यो । मान्छे थाङ्ने भए पनि उ पढाइमा भने अब्बल थियो । सधैँ कक्षामा प्रथम वा द्धितीय हुन्थ्यो । अतिरिक्त क्रियाकलापमा पनि सधैँ सक्रिय भई रहन्थ्यो । उ स्कुलमा सबैको प्यारो पनि थियो ।

उसले गाउँको स्कुलबाट प्रथम श्रेणीमा २०६३ सालमा एस.एल.सी पास गर्‍यो । पढाइमा मेहनती भएर पनि होला उसलाई धेरैले एसएलसी पछि विज्ञान पढ्नको लागी सल्लाह दिएका थिए । तर उसले विज्ञान पढ्ने सोच बनाएन बरु भविष्यमा सरकारी सेवामा जागिर खाने रहरले उसले व्यवस्थापन विषय पढ्यो । बुटवलको एउटा कलेजबाट उसले व्यवस्थापन सङ्कायमा प्रथम श्रेणीमा प्लस टु उत्तिण गर्‍यो । पारिवारिक पृष्ठभूमि पनि सरकारी सेवा भएकोले त्यति बेलासम्म उसमा सरकारी सेवा केही र कसरी जागिर खाने भन्ने केही ज्ञान भइसकेको थियो ।

प्लस टु पछि काठमान्डौको यात्रा तय गर्‍यो । काठमान्डौको सरकारी क्याम्पसबाट उसले व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातक उत्तिण गर्‍यो । उसका केही साथीहरू एसएलसी पछि सो भन्दा माथि पढेनन् । कसैले प्लस टु सम्म मात्र पढे । केही हुने खानेहरू युरोप अमेरिका तिर गए । कोही जापान कोरिया तिर पैसा कमाउन गए । कोही भने जीवन निर्वाहको लागी खाडी मुलुकतिर गए । उसलाई भने सरकारी जागिर खाने हुटहुटीले डोराइरह्यो । भविष्यमा सरकारी जागिर खाने हो भनेर साथीहरूलाई सुनाउँदा साथीहरूले ‘अरे यार तिमी त भविष्यको सिडिओ’ भनेर पनि जिस्काउँथे । त्यही भएर पनि उसले निजामती सेवाको प्रशासन सेवामा रुचि बढाउँदै लगेको थियो । यो देशको प्रशासन क्षेत्रमा केही सुधार गर्नुपर्छ भन्ने सोच उसमा थियो ।

स्नातक पछि केही उसका साथीहरू निजी संघ संस्थामा जागिर खान थाले । कतिपय साथीहरू बैकतिर लागे । उसले पनि साथीहरूको लहलहैमा लागेर केही प्राइभेट बैङ्कमा जाँच दियो । तिन वटा चलन चल्तीका वाणिज्य बैङ्कमा उ छनोट पनि भयो तर उसमा सरकारी जागिर खाने भूतले सताई रहेको हुँदा ती बैँहरुमा जागिर खान गएन ।

स्नातक पछि उसले माथिल्लो तहको अध्ययनलाई रोक्यो । केही समय सरकारी जागिरको लागी तयारी गर्‍यो । करिब १ वर्षको बिचमा नेपाल राष्ट्र बैक, कृषि विकास बैङ्क र निजामती सेवाको नासु पदमा नाम निकाल्यो । उसका धेरै जसो आफन्त तथा साथीभाइहरूले उसलाई नेपाल राष्ट्रबैको जागिर खान सल्लाह दिए तर किन हो कुन्नि उसको मनले राष्ट्र बैङ्कको जागिर भन्दा निजामती सेवाको जागिरलाई ठिक ठान्यो । त्यसैले उसले न्याय सेवाको निजामती सेवा रोज्यो र सरकारले तोकेको ठाउँमा गएर काम गर्न थाल्यो ।

उसलाई लाग्यो, लोकसेवाको जागिर भनेको मेहनत गर्ने हो भने सजिलै निकाल्न सकिँदो रहेछ । उसले नासु पछि शाखा अधिकृतको तयारी गर्दै थियो । यही बेला यता देशमा नयाँ संविधान घोषणा भयो । नेपालको राजनीतिले कोल्टे फेर्‍यो । संविधान सभाबाट संविधान जारी भएकोमा उ पनि खुसी थियो । उ पनि अब यो देशको विकास र समृद्धिको लागी स्थाई सरकारको सदस्य भएकोमा गौरवान्वित थियो ।

जताततै विकास र समृद्धिको बहस सुरु भयो । सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको चुनाव सफलताको साथ सम्पन्न भयो । राजनीतिक रूपमा देशमा परिवर्तन भए पनि प्रशासनिक परिवर्तन भइसकेको थिएन । कर्मचारी समायोजनको मुख्य पाटो बाँकी नै थियो ।

कर्मचारी समायोजनलाई सहज बनाउन भनेर सरकारले कर्मचारी समायोजन ऐन जारी गर्‍यो । तर किन हो कुन्नि यो ऐन लागु गरिएन वा लागु गर्न दिइएन । हुन त यो देश प्रणालीमा चल्ने भन्दा पनि प्रणालीलाई व्यक्तिले आफू अनुकूल चलाउने देश हो भन्ने कुरा उसलाई राम्रो सँग थाहा थियो । आफू अनुकूलका कानुन बनाउन केही हाकिमहरू नेताहरूलाई समेत प्रभावमा पार्छन् भन्ने उसले सुनेको थियो सायद त्यही कारणले सो ऐन लागु भएन भन्ने उसलाई लाग्यो ।

यही सेरोफेरोमा उसले शाखा अधिकृत पास गर्‍यो । उसले न्याय र राजस्व रोजेन । जान चाहेको भए उ न्याय, राजस्व, लेखा वा लेखापरिक्षण सबैतिर पाउँथ्यो तर उ प्रशासन समूहमै बस्ने निधो गर्‍यो । किनकि सङ्घीयताले ल्याएको अवसरको उसले पनि उपयोग गर्न चाहन्थ्यो । आफ्नै जिल्लाको गाउँपालिकामा गएर प्रमुख प्रशासकीय अधिकृत बन्ने उसले सपना बनाएको थियो । यही सपना बोकेर उ स्टाफ कलेजले प्रदान गर्ने आधारभूत प्रशासनिक तालिममा सहभागी बन्यो ।

जब उ शाखा अधिकृत तालिमको उद्घाटन सत्रमा पुगेर कर्मचारीका अभिभावक मन्त्रीको भाषण सुन्यो उसलाई सो भाषणले तिरिमिरी बनायो । अभिभावकले शत्रुलाई जस्तो व्यवहार देखाउनु भयो । नानाभाती गाली गर्नुभयो ।

बिचार धेरै साथीहरू भर्खर भर्खर निजामती सेवामा छिर्नु भएको थियो, जसको यो देशको प्रशासन बिगार्न कुनै गल्ती नै थिएन । लोक सेवाको योग्यता प्रणालीबाट योग्य ठहरिएर नै उहाँहरू आउनुभएको थियो तर अभिभावक ज्युले १० औ वर्ष काम गरेका कर्मचारीलाई झैँ चेतावनी शैलीमा गाली पो गर्न थाल्नु भयो । उसलाई त अभिभावकको उसका सन्तानप्रतिको व्यवहार पहिलिनै थाहा थियो, उ केही समय अगाडीबाटै अभिभावकज्यूको नजरमा “थाङ्ने” कर्मचारीमा परिणत भइसकेको थियो, त्यसैले उ चुप लाग्यो केही बोलेन । हुन त उ सँग बोल्ने हैसियत पनि त थिएन ।

हो, गल्ती गर्नेलाई अधिभावकले सम्झाउनु पर्छ । सम्झाउँदा समेत नमानेमा भाटा पनि बजाउनु पर्छ । तर भर्खर जन्मेका बच्चाहरू (भर्खर पास गरेका साथीहरू) लाई के ठिक के बेठिक थाहा नहुन पनि सक्थ्यो । सही मार्ग निर्देश  गरेर कार्य उत्प्रेरित गर्नुहोला भन्ने सबैको अपेक्षा थियो, उल्टो कर्मचारीलाई गाली गरेर पो जानुभयो । सबै मुखामुख गर्न थाले । तर केही बोल्न सकेनन् । जङ्गलको सिहँको अगाडी अरू जाबा भुसुनाको के चल्थ्यो । सबै जना, तै चुप मै चुप रहे ।

सधैँ सोचेको कहाँ हुँदो रहेछ र ! उसका इच्छा र आकाङंक्षा एकपछि अर्को गर्दै ओईलाउदै गए जति बेला हुँदाको ऐनलाई लत्ताएर सरकारले संसद् छलेर चोर बाटो प्रयोग गरी कर्मचारी समायोजन अध्यादेश जारी गर्‍यो । कलेज पढ्दा सिडिओ बन्न हौसला दिने साथीहरूको सपना यो अध्यादेशले पुरा नगर्ने भयो । प्रमुख प्रशासकीय अधिकृत बनेर गाउँमै जाने सपना पनि चकनाचुर भयो । सबैभन्दा कान्छो अधिकृत भएर होला सबलै छोडेर रहेको ठाउँमा उ जानु पर्ने भयो । उसमा निराशा झाङ्गिदै गयो । स्थानीय तहमा गए पनि स्थानीय तहको माथिल्लो पदमा पुग्ने बाटो छैन । प्रदेशमा जाओस् प्रदेशको सचिव वा मुख्य सचिव हुने बाटो छैन । सङ्घमा बस्ने कुनै अधिकार उसलाई छैन । चारैतिर अन्योल र अन्धकार छ । जुन सेवा र सर्त अनुसार जुन सेवामा उ प्रवेश गरेको हो त्यो सबै प्रक्रियालाई लत्ताउदै लोकसेवा आयोगको महत्त्वपूर्ण परामर्शलाई समेत औचित्यहीन ठान्दै केही सीमित वर्गको स्वार्थमा ल्याइएको यो अध्यादेशले देशको प्रशासन भविष्यमा सबल होला कि अझ धेरै बिग्रेला उ आफै रनभुल्लमा छ । उसलाई नखाउ भने दिनभरिको सिकार खाऊ भने कान्छा बाउको अनुहार जस्तै भएको छ आजभोलि ।

अर्कोतिर, ठुलो सपना बोकेर निजामती सेवामा छिरेको उसको सपना के अब सधैका लागी सपना नै बन्ने हो त ? आजभोलि दिनरात यही प्रश्नले सताउँछ उसलाई । र, सोच्छ कतै मैले विगतमा निजामती सेवामा छिरेर कुनै गल्ती त गरिन ? निजामती सेवामा छिरेकोमा उसलाई पश्चात्ताप लाग्न थालेको छ । उसलाई अब डिप्रेसनको डर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस