उपचार अनुदान ५ लाख पुर्‍याउँछौँ : अध्यक्ष दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपचार अनुदान ५ लाख पुर्‍याउँछौँ : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

२० पुस २०७५, शुक्रबार


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु ५ लाख पुर्‍याउने बताएका छन्।

भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु ५ लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताए।

देशमा बढ्दै गएको ‘अर्बुद’ रोगप्रति चिन्ता व्यक्त गर्दै उनले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताए । सरकारले अस्पतालमा अर्बुद उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण वितरण गर्ने बताउँदै अहिले उपकरण ल्याउन भइरहेको प्राविधिक जटिलता अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट अर्बुद रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताए।

अध्यक्ष दाहालले अर्बुद रोग न्यूनीकरणका लागि जनचेतना फैलाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अर्बुद रोग न्यूनीकरणका लागि निरोधात्मक र प्रचारात्मक अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस