मकैको आयात बढ्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मकैको आयात बढ्दै


१९ पुस २०७५, बिहिबार


काठमाडौं । कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभागअन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

कुखुरापालनमा लाग्ने किसानको सङ्ख्या ह्वात्तै बढे पनि त्यसको अनुपातमा मकैको उत्पादन वृद्धि नभएको वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले बताए । उनले भने, “किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गरेर पनि मकैको उत्पादन बढाउनुपर्छ ।”

नेपालको मुख्य तीन बालीमा धान र गहुँसँगै मकै पर्छ । तराईदेखि भित्री मधेश र उच्च पहाडी क्षेत्रमा समेत मकैखेती हुँदै आएको छ । दिनदिनैको खानामा मकैको प्रयोग केही मात्रामा बढेको छ भने कुखुराका आहाराका लागि पनि बढी मात्रामा मकैको आवश्यकता पर्छ ।

किसानलाई मकैखेतीमा आकर्षित गर्ने कार्यक्रम स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत लैजाने केन्द्रको योजना रहेको जानकारी दिँदै उनले भने, “थोरै जमीनमा पनि धेरै उत्पादन दिने जातका मकैको उत्पादन बढाउनु खाँचो छ ।” देशभरमा मकैको उत्पादन प्रतिहेक्टर तीन टन छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस