‘थाहा’ दर्शन र सूचनाको हक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘थाहा’ दर्शन र सूचनाको हक


पदमराज तिमल्सिना

१८ पुस २०७५, बुधबार


विषय प्रवेश
एकीकृत राज्य व्यवस्थामा नागरिकलाई सूचना दिनको लागि तोप पड्काउने, बिगुल फुक्ने, गाउँगाउमा गएर बाजा बजाउने, नगरा बजाउने जस्ता कार्य हुन्थ्यो । नेपालमा पहिलो पटक नेपालको संविधान, २०४७ मा सूचनाको हकलाई संविधानमा राखियो । अहिलेको नेपालको संविधानको धारा २७ मौलिक हकको रूपमा राखिएको छ । सूचनाको हकलाई प्रचलन गराउनको लागि सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ जारी गरी कानुनी व्यवस्था गरिएको छ । साथै यसको लागि राष्ट्रिय सूचना आयोगको गठन गरी संस्थागत व्यवस्था गरिएको छ ।

तर संविधान र कानुनमा व्यवस्था गरिनु अगाडि रूपचन्द्र विष्टले ‘थाहा’ दर्शन मार्फत नागरिक चेतना अभिवृद्धि गर्ने कार्य गरेका थिए । यसलाई सूचनाको हकको प्रारम्भिक अभ्यासको रूपमा लिन सकिन्छ । अहिले सूचनाको हक भनिएता पनि नागरिकको थाहा पाउने हक नै हो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री कृष्णहरी बाँस्कोटाको भनाई अनुसार मानिस कहाँ जन्म लिन्छ भन्ने कुराले पनि फरक पर्दछ । यो लेखमा अहिले प्रचलनमा रहेको सूचनाको हक नेपाली माटोमा धेरै पहिलादेखि ‘थाहा’ दर्शनको रूपमा आईसकेको थियो भनेर बुझाउने प्रयत्न गरिएको छ ।

को हुन् रूपचन्द्र विष्ट ?
उनको जन्म वि.सं १९९० पौष २६ मा मकवानपुर जिल्लामा भएको थियो भने देहावसान वि.सं २०५६ असार ७मा भएको थियो । उनलाई रुदाने, रुप्चन, स्वरूप, रापसरु, जसरी आदि नामले पनि चिनिन्थ्यो । उनले नेपाली माटोमा ‘थाहा’ दर्शन मार्फत जनताको चेतनाको स्तर बढाउने कार्य गरेका थिए ।

जनता केन्द्रीत विकासका पक्षपाती थिए, रूपचन्द्र विष्ट । जनमुखी स्वभावका उनले तत्कालीन समयमा शासक वर्गबाट हुने गलत प्रवृत्तिको बिरुद्धमा आवाज बुलन्द गरे भने आम जनतालाई जागरुक बनाएर समाजको विकासमा समर्पित बनाउन प्रयास गरे । जनता कति जागरुक भए त्यसको लेखाजोखा समयले गर्ला तर शासक वर्ग भन्ने एक हदसम्म सचेत भई सकेका थिए ।

उनी आफ्नो लागि आफैँ लड्नु पर्ने कुरामा विश्वास राख्दथे । दुःख भोग्नेले नै दुःख बुझेको हुन्छ । श्रमिकको राजनीति पुँजीपतिहरूले गरेर नहुने, महिलाको राजनीति पुरुषले गरेर नहुने, आफ्नो लागि आफैँ जागेर अघि बढ्नु पर्ने उनको मान्यता थियो । जसको उत्थान हुनुपर्दछ, ऊ स्वयंमले त्यसको अगुवाइ गर्नु पर्दछ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नु पर्दछ भन्ने उनको आवाज थियो । उनी जनता जगाउन उज्यालोमा लालटिन बाल्ने, चुरोटको ठुटाले पोल्ने जस्ता अलि असहज लाग्ने तरिकाबाट आफ्नो विचार बुझाउने गर्दथे । उनी लगाउने कपडा, घरको भित्ता, सार्वजनिक भवन, पर्खाल आदिमा थाहा लेख्दै जनता जगाउने गर्दथे । विकासको लागि पूर्ण रूपमा सरकारको भर नपरी आफ्नो तर्फबाट सक्दो पहल गर्नु पर्दछ भन्ने उनको विचार थियो ।

के हो थाहा आन्दोलन ?
रूपचन्द्रको भनाई अनुसार मान्छेको आकारमा रहेका तर पशुको प्रकारले बाँचेका मान्छे भित्रको साक्षात् मान्छे जगाउने अभियान हो ‘थाहा’ दर्शन । उनले मान्छे भित्रको मान्छे तत्त्व जगाउन जीवनभर प्रयत्न गरे । अज्ञानता हटाउन र चेतना फैलाउन यो अभियान सत्यका पुजारीहरूको बिचमा लोकप्रिय थियो । यसलाई मन नपराउनेहरूको पनि कमी थिएन । साङ्केतिक रूपमा समाजले अराजक भनेको पनि थियो । उज्यालोमा लालटिन बोकी हिँड्ने उनलाई सनकी, पागलसमेत भनियो । थाहा कुनै राजनीतिक नारा थिएन, न त बनिबनाउ सिद्धान्त थियो । उनी आफ्ना विरोधीहरूलाई खुला रूपमा जनता सामु आएर कुरा राख्न चुनौती दिन्थे । त्यो यनको ठाडो बोली र रूखो व्यवहार नभई उनमा भएको हुँकार र जनताप्रतिको विश्वास थिया । रूपचन्द्रले ‘थाहा’ दर्शनलाई जनताको चेतनाको स्तर उकास्न, सत्य कुरा बुझ्ने र बुझाउने संस्कार बढाउन सुरुवात गरेको स्पष्ट निष्पक्ष सक्रियताको अभ्यास थियो ।

थाहा आन्दोलनको प्रभाव
थाहा आन्दोलनले समाजमा जनता जगाउने काम गरेको थियो । उनका सहयोगी थोरै भएता पनि विश्वासिला थिए । बौद्धिक वर्गले उनको आन्दोलनको भाव बुझेको थियो । मकवानपुर जिल्लाका केही सरकारी विद्यालयमा उनले लेखेका जनमुखी गान गाउने गरिन्थ्यो । सामूहिक खेती, विकास खेत, विकास चौर, विकास घर, विद्यालय निर्माण जस्ता जनमुखी कार्य गरेर समाजमा चेतनाको विकास गरेका थिए । सांसद रामनारायण बिंडारी, व्यापारी/समाजसेवी अजय राज सुमार्गी लगायतका थोरै मात्र उनका चेलाहरू थिए । उक्त अभियानको महत्त्व बुझेर नै नेपाल सरकारले मकवानपुर जिल्लामा एक नगरपालिकाको नाम ‘थाहा नगरपालिका’ नामकरण समेत गरेको छ ।

सूचनाको हक भनेको के हो ?
सूचना शक्ति हो । सूचना माग्ने र पाउने हकलाई सूचनाको हकको रूपमा लिइएको छ । नागरिकले आफ्नो सरोकारको, सार्वजनिक चासोको लगायत जुनसुकै विषयको सूचना प्राप्त गर्ने हैसियत राख्दछन् । सूचना भनेको कुनै पनि विषयको सत्य जानकारी हो । यो कच्चा तथ्याङ्कलाई विभिन्न विधि प्रयोग गरेर उपयोगी बनाइएको हुन्छ । अर्को अर्थमा भन्नुपर्दा सूचना भनेको स्थापित सत्य हो, जसको आधारमा हामी आफ्नो धारणा बनाउन सक्दछौँ,  निर्णय लिन सक्दछौँ । जनतालाई सु-सूचित गर्नु राज्यको दायित्व हो भने सूचना प्राप्त गर्न पाउनु नागरिकको अधिकार हो । अधिकार शब्दले कर्तव्य पनि सँगै लिएर आउने भएकाले राज्यले मागेका सूचना सही रूपमा उपलब्ध गराउनु पनि नागरिकको कर्तव्य हो । सूचनाको हक मौलिक हक हो । यो सङ्कटकालको सीमित अवधिमा बाहेक निलम्बन हुँदैन । जनता सूचनाका मालिक हुन । यो नागरिकको हकमध्ये श्रेष्ठ हक हो ।

सूचनाको हकको महत्त्व 
सूचनाको हकलाई लोकतन्त्रको आधारको रूपमा लिने गरिन्छ । यसले भ्रष्टाचार न्यनीकरण गरी सुशासन कायम गर्नमा सहयोग गर्दछ । जनताले सूचनाको हक मार्फत विकास र सुशासनको अनुभूति गर्दछन् । सूचनाको हक सार्वजनिक कार्यको खबरदारी हो । यो विकृति बिरुद्धको अभियान हो । यसलाई सार्वजनिक निकायको गतिविधिलाई नियाल्ने माध्यमको रूपमा व्यापक प्रयोग गरिएको छ । यसबाट सार्वजनिक निकाय सच्चिने र सुध्रिने अवसर पाउँछन् । सार्वजनिक जिम्मेवारीमा रहेकाले जनताले सोधेको प्रश्नको उत्तर दिनुपर्दछ । उनीहरूले सूचनाको हकको बिरुद्धमा बोल्नु हुँदैन । सूचनाको हक सम्बन्धी ऐनको प्रस्तावनामा राज्यको काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप हुनुपर्ने, ती निकायका काम कारबाही खुल्ला र पारदर्शी हुनुपर्ने, तिनीहरू नागरिकप्रति जबाफदेही हुनुपर्ने तथा आफूसँग रहेको सार्वजनिक महत्त्वको सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने कुरा उल्लेख छ ।

सूचनाको हकको प्रचलन
सूचनाको संरक्षण, संवर्धन र प्रचलन गराउनको लागि राष्ट्रिय सूचना आयोगको गठन गरिएको छ । सर्वोच्च अदालत र उच्च अदालतले परमादेश, प्रतिषेध, उत्प्रेषण, बन्दी प्रत्यक्षीकरण, अधिकारपृच्छा लगायतका आदेश जारी गर्न सक्छन् । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकायहरू, सबै प्रकारका सरकारी कार्यालयहरु, कानुनद्वारा स्थापित जुनसुकै संस्था, राजनीतिक दलहरू, गैर सरकारी संस्थाहरू, निजी क्षेत्र लगायत सबै खाले संस्थासँग सूचना माग गर्न सकिन्छ । तर व्यक्तिसँग सूचना माग गर्न सकिँदैन । कतिपय कुराहरू स्वतः प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था समेत छ ।

सूचनाको हकसम्बन्धी गतिविधिलाई सहज बनाउन प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्दछ । सूचना अधिकारीले व्यवस्थित रूपमा दुरुस्त सूचना राख्नुपर्दछ । उनले अनेक नागरिकलाई अनेक प्रकारका सूचना दिनुपर्ने भएकाले वास्तविक सूचना दिन धक मान्नु पर्दैन । समयमा सूचना नदिएमा क्षतिपूर्ति दिनुपर्ने समेत व्यवस्था छ । सूचना निःशुल्क र सः शुल्क रूपमा उपलब्ध गराउनु पर्दछ । सूचनाको कानुनमा अपवादका सिद्धान्त छ । सूचना अधिकारी कानुनले अपवाद ठानेका बाहेक सबै सूचना सार्वजनिक गर्नुपर्दछ ।

सूचनाको हकको प्रभाव
सूचनाको हकले नेपाली समाजमा पारदर्शिता प्रवर्धन गरेको छ । यसले सार्वजनिक निकायका पदाधिकारीलाई थप जिम्मेवार बनाएको छ । सार्वजनिक कार्यमा खबरदारी गरेको छ । साथै निर्णय लुकाउने प्रवृत्ति र गैरजिम्मेवार संस्कृतिलाई निरुत्साहित गरेको छ । जनतामा पनि कानुनी राज्यको आभास दिएको छ । सूचनाको हकले लोकतन्त्रको जगलाई बलियो बनाउँदै गएको छ । सूचना नपाएकै कारणबाट आफ्नो हक अधिकर प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन । सूचनाको हकले लोकतन्त्रको जगलाई मजबुत बनाएको छ । यो कानुनी रूपमा स्थापित भईसकेपश्चात परीक्षाको उत्तर पुस्तिका देखाउने, बढुवाको अङ्क हेर्न मिल्ने, लोकसेवाको कुल प्राप्तांक अङ्क हेर्ने लगायतका निर्णय लागु भई कार्यान्वयन भइसकेको छ ।

निष्कर्ष 
जनताकेन्द्रीत विकासका पक्षपाती थिए, रूपचन्द्र विष्ट । उनले ‘थाहा’ दर्शनको सुरुवात गरेका थिए । यो नेपाली माटोको बिशुद्ध मौलिक सामाजिक चिन्तन हो । रूपचन्द्रको भनाई अनुसार मान्छेको आकारमा रहेका तर पशुको प्रकारले बाँचेका मान्छे भित्रको साक्षात् मान्छे जगाउने अभियान हो ‘थाहा’ दर्शन । सूचनाको हक भनेको सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक हो । ‘थाहा’ दर्शन नेपालमा सूचनाको हकको प्रचलनमा देखिएको नेपाली माटोको मौलिक अभ्यास हो । जसले तत्कालीन समयमा सार्वजनिक सरोकारको विषयमा जनताले थाहा पाउनु पर्ने कुरालाई स्थापित गराएको थियो । राज्यको गतिविधिलाई नियाल्दै जनतालाई जागरुक बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस