‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने


प्रशासन संवाददाता

१७ पुस २०७५, मंगलबार


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन् ।

एन्फा अध्यक्ष शेर्पाले भने, ‘प्रतियोगिता वैशाख र जेठमा पूर्वाधार भएको प्रदेशमा आयोजना गर्ने गरी तयारी शुरु गरेका छौँ ।’ एन्फाले प्रतियोगिताको व्यवस्थापनका लागि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरेको छ । सम्झौताअनुसार लिगमा प्रतिष्पर्धा गर्ने टोलीको नाम, तयारी र प्रायोजक इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ ।

सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे । यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यवस्थापनमा विद्यालयस्तरीय लिग आयोजना गर्ने समेत जनाइएको छ । विद्यालय लिगमा ११ टोली छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । सो लिग करीब ६ महीना चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस