सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट गाउँमै उपचार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट गाउँमै उपचार


१७ पुस २०७५, मंगलबार


नेपाली सेना

भीमदत्तनगर । नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुगे । आँखाको उपचार गर्न उनले कयौँ पटक धनगढी र महेन्द्रनगर धाए । “धेरै पटक धाएँ, तर सञ्चो भएन”, मडैले भने, “सेनाको चिकित्सकले उपचार गरे निको हुन्छ की भनेर जँचाउन आएँ ।”

मडैले नेपाली सेनाद्वारा यहाँ सञ्चालित स्वास्थ्य शिविरमा निःशुल्क रूपमा औषधि उपचार पाए । “वि.सं. २०२० देखि यो गाउँमा बस्दै आएको छु”, उनले भने, “पहिलो पटक गाउँमा आएर स्वास्थ्य शिविर चलाएको सेनाले नै हो ।” मडैले सेनाको उक्त कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि स्वास्थ्य शिविर सञ्चालन निरन्तरताका लागि आग्रह गरे ।

कञ्चनपुरस्थित नेपाली सेनाको सिंहशार्दूल गुल्मको आयोजना र शुक्लाफाँटा नगरपालिकाको सहयोगमा यहाँ दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सयौँ वृद्धवद्धाले घर आँगनमै उपचार पाए । शिविरमा स्वास्थ्य परीक्षणमा खटिएका सेनाको भगतपुर ब्यारेकस्थित श्री नं २५ फिएका प्रमुख उपसेनानी डा साजन महर्जनलाई स्थानीयवासी ७० वर्षीया वृद्धा रत्नादेवी सिंहसँग गाउँमै उपचार पाएकोमा खुशी प्रकट गरे । “गाउँमै सहज रूपमा उपचार गर्न पाइयो,” उनले भने ।

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ईश्वरी पाण्डेय जिल्लामै विशेषज्ञ चिकित्सक सेवा नहुँदा कञ्चनपुरवासीले लामो समयदेखि धनगढी र कोहलपुर तथा भारतका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता छ । “महेन्द्रनगरमा अस्पताल त छ तर चिकित्सक हुँदैनन्”, उनले भने, “सडक पूर्वाधार गाउँमा जोडिए पनि अझै स्वास्थ्यलगायतका अरु सुविधा पुगेको छैन ।”

कसरौलकै स्थानीयवासी पशुपति धामीले शिविरमा हाडजोर्नीको उपचार गराए । उनले यातायात असुविधाका कारण ग्रामीण बस्तीबाट बिरामी अस्पताल पुग्नै नसक्ने बताए । “उचित स्वास्थ्य सेवा पाउन निकै कठिन छ”, उनले भने, “सेनाले अझै विकट बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरे सहज हुन्थ्यो ।”

शुक्लाफाँटा नगरपालिकाले औषधि उपलब्ध गराउन सहयोग गरेको थियो । शिविरबाट एक हजार ४३५ जनाले स्वास्थ्य सेवा पाएको आयोजक सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी विदुरध्वज अधिकारीले बताए । “सैनिक–नागरिक सम्बन्ध थप सवल बनाउन हामी विभिन्न प्रकारका कार्यक्रम गर्दैआएका छौँ”, उनले भने, “यहाँ स्वास्थ्य शिविरको आवश्यकता देखेरै सञ्चालन गरेका हौँ ।” उनले ग्रामीण भेगमा स्वास्थ्य सेवालगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैजाने बताए ।

यहाँस्थित श्री नं २५ फिएका प्रमुख उपसेनानी डा साजन महर्जनले शिविरमा हाडजोर्नी, आँखा, स्त्रीरोगका बिरामी बढी आएको बताए । “हातखुट्टा दुख्नेदेखि नाक, कान, घाँटी र आँखासम्बन्धी धेरै समस्या देखियो”, उनले भने, “सकेजति स्तरीय सेवा स्थानीयवासीले पाएका छन ।”

स्वास्थ्य परीक्षणमा कैलालीको तेघरी ब्यारेकस्थित श्री नं ५ फिएका प्रमुख सहसेनानी डा ज्योति खड्का, महाकाली अञ्चल अस्पतालका डा वैभव भट्ट, आँखा अस्पताल कञ्चनपुरका डा इस्मथ अधिकारीलगायतको चिकित्स टोली खटिएको थियो । डा ज्योति खड्काले महिलामा पाठेघरको समस्या धेरै देखिएको बताए । त्यसका साथै ग्याष्ट्रिक, मुटु, मधुमेह रोगका बिरामीले पनि सेवा लिएको उनले जानकारी दिए ।

“ठूला रोगका बिरामी आर्थिक अवस्था कमजोर भएकाले यहाँ औषधि पाउने आशले पनि आएको देखियो”, उनले भने, “ औषधि महङ्गो हुने हुँदा रोग पालेरै बसेको पनि पाइयो ।” शिविरको व्यवस्थापनमा सैनिक टोलीसँगै राष्ट्रिय सेवा दलका प्रशिक्षार्थी विद्यार्थी पनि खटिएका थिए । शिविरसँगै कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सेनाको श्री नं २५ बाहिनी अड्डा र गुल्मले विभिन्न सांस्कृति प्रस्तुतिका साथै जनचेतनाका लागि नेपाली सेनासम्बन्धी र स्वास्थ्यसम्बन्धी गतिविधिसमेत स्थानीयवासीलाई श्रव्यदृश्यमार्फत देखाइएको श्री नं २५ बाहिनी अड्डकाका सहसेनानी सन्तोषबहादुर चन्दले बताए ।

शिविरमा श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शरद ढकाल, शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर, प्रवक्ता एवं शुक्लाफाँटा नपा–७ का वडाध्यक्ष जगतबहादुर सिंहलगायत सहभागी थिए । सेनाको बाहिनी, गण तथा गुल्मले यसअघि पनि यहाँका विभिन्न स्थानीय तहमा आन्तरिक स्रोतसाधन उपयोग गरी एक दर्जन बढी स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस