‘ए’ डिभिजन लिग : मछिन्द्र र एनआरटीको ५/५ गोल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘ए’ डिभिजन लिग : मछिन्द्र र एनआरटीको ५/५ गोल


प्रशासन संवाददाता

१६ पुस २०७५, सोमबार


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको बाह्रौँ चरणको पहिलो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दुबै टोलीले ५/५ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् ।

मछिन्द्रका लागि विशाल राईले २ गोल गर्दा खामिर गलिसान, अनिल गुरुङ र भासडिया डाइमण्डले एक/एक गोल गरे । डाइमण्डले खेल शुरु भएको तेस्रो मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको नवौँ र ६३ औँ मिनेटमा विशालले दुई गोल गर्दा खामिरले खेलको २७ र अनिलले खेलको २९औँ मिनेटमा १/१ गोल गरे ।

त्यस्तै एनआरटीका अशोक थापाले दुई गोल गरे भने सुशील लामा र विदेशी खेलाडी कौवासी जेनले एक/एक गोल गरे । अशोकले खेलको ३२ औँ र ३४औँ मिनेटमा दुई गोल गर्दा सुशीलले खेलको मध्यान्तर हुनुभन्दा अघिको अत्तिरिक्त समयमा एक गोल थपे ।

त्यसैगरी खेलको ८५औँ मिनेटमा विदेशी खेलाडी कौवासीले एक गोल गरे भने खेलको आठौँ मिनेटमा मछिन्द्रका खेलाडी साहीद गबेन्गाले एनआरटीको लागि उपहार स्वरुप आत्मघाती गोल गरिदिए ।

खेलमा एनआरटीका अशोक थापा म्यान अफ दि म्याच घोषित भए । यस बराबरी खेलसँगै मछिन्द्र सात अङ्कसहित तालिकाको १२औँ स्थानमा छ भने छ अङ्क जोडेको एनआरटी लिग तालिकाको पुछारमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस