प्रधानमन्त्रीलाई पत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीलाई पत्र


केदार खतिवडा

१३ पुस २०७५, शुक्रबार


प्रधानमन्त्रीलाई पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू,

आफ्नो जीवनको अधिकांश समय परिवर्तनको निमित्त समर्पण गर्नुभएको तपाईँलाई सर्वप्रथम हृदयदेखि सलाम ।

सम्माननीय, अहिले मुलुक संविधान कार्यान्वयनको क्रममा छ । लामो समयको राजनीतिक अन्योलतालाई छिचोलेर मुलुकले हजुरको नेतृत्वमा स्थायी सरकार प्राप्त गरेको छ । एकात्मक राज्य संरचनाको बानी परेको प्रणालीलाई संघात्मक पद्धतिमा लैजाने अत्यन्तै ठुलो जिम्मेवारी हजुरको काँधमा छ । यो चानचुने काम पक्कै होइन । संघीयता कार्यन्वयनको लागि कर्मचारी समायोजनको एउटा गम्भीर जिम्मेवारीमा राज्य होमिएको छ । हजुरसँग आफैँमा एउटा गर्विलो इतिहास छ, मुलुकको उज्वल भविष्यको सुनौलो अभिलाषा छ । समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने दिशामा हजुरका पाइलाहरू निरन्तर अगाडि बढ्दै छन् । यो हामी सम्पूर्ण नेपाली जनताको लागि अत्यन्तै गर्भको विषय हो ।

सम्माननीजय प्रधानमन्त्री ज्यु, हजुरको नेतृत्वमा समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्नको लागि दुरदराजसम्म पुगेर सेवा गर्न कर्मचारी आतुर छन् । राष्ट्रको समृद्धि र जनताको सुख र खुसीका लागि योगदान गर्न पाउनु हाम्रा लागि अत्यन्तै गर्वको विषय हो । तर, विडम्बना सम्माननीय, आज देशको स्थायी सरकार हजुरको समृद्ध नेपाल र सुखी नेपाली निर्माणको सबैभन्दा नजिकको सहयात्री निजामती कर्मचारीतन्त्र आफैँमा निशास्सिएको अवस्थामा छ ।

कर्मचारी समायोजनको लागि आएको ऐन कार्यन्वयन हुन सकेन, सरकारले आफैँले दिने भनेर ल्याएको स्वैच्छिक अवकाश प्याकेज हजुरकै नेतृत्वमा रहेको सरकारले कार्यन्वयनमा ल्याएन, कर्मचारीलाई उत्प्रेरित गरेर सेवाप्रति समर्पित गराउन नयाँ सार्वजनिक व्यवस्थापनको अवधारण अनुरूप केही कार्यालयहरूमा अवलम्बन गरिएको कार्यसम्पादनको आधारमा इन्सेन्टिभलाई पनि हजुरकै नेतृत्वको सरकारले खारेज गर्‍यो । यति त ठिकै थियो समृद्ध नेपाल निर्माणका लागि कर्मचारी एक पेट खाएर भए पनि सेवा गर्न तयार थिए । तर आज कर्मचारीहरूको वृत्ति विकाश नै रोक्ने गरी हजुरको नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश यसको जन्मदेखि नै आलोचना र भर्त्सना भएता पनि जारी भइसकेको अवस्था छ ।

सम्माननीय, हजुर प्रगतिशील विचारधारा बोकेको मान्छे । सामन्तवादका अवशेषलाई नष्ट गर्नको निमित्त आफ्नो जीवनको अधिकांश वसन्त खर्च गर्नुभएको मान्छे । आज त्यै परिवर्तनको लागि जीवन समर्पण गरेको नेपालको सच्चा छोरोले नेतृत्व गरेको सरकारको पालामा निजामती कर्मचारीमाथि जर्ज अर्वेलको एनिमल फार्ममा एनिमलहरुमाथि उसको मालिकले गरेको जस्तो व्यवहार भएको छ । यो कतिसम्म न्याय संगत र कतिसम्म लाभदायी छ, सम्माननीयले एक पटक गम्भीर ढङ्गले बुझ्न आवश्यक छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरेको मानिसको नैसर्गिक अधिकार भित्र पर्ने वृत्ति विकास र सुनौलो भविष्यको अधिकार आज कर्मचारीबाट खोस्ने जमर्को भएको छ । कसैको सपनाको घाँटी थिचिथिची हत्या गर्नुभन्दा ठुलो पाप अरू के होला ? आज एउटा सपनाको मात्र होइन हजारौँ सपनाको हत्या भएको छ, ती सपनासँग जोडिएका लाखौँ सपनाको हत्या भएको छ ।

सम्माननीय ज्यु, आज यो देशको सबैभन्दा फटाहा, भ्रष्ट र अप्रगतिशिल संयन्त्रको रूपमा कर्मचारीतन्त्रलाई परिचित गराउन खोजिँदै छ । आफ्नो अयोग्यता ढाक्न र अरूलाई विरोध गरेर आफू लोकप्रियता कमाउन खोज्ने अल्लारेहरू हजुरकै वरपर घुमिरहेका पनि हुन सक्छन् । हजुर एकदम कुटिल, एकदम गम्भीर र एकदम अध्यानशिल हुनुहुन्छ । हजुरलाई भ्रममा पार्न सायद कमैले सक्लान् । तर सम्माननीय, चौतर्फी विरोध हुदाहुदै पनि एउटा हरफसम्म नसच्याई अध्यादेश आउनु र सो बमोजिमको सूचना जारी हुनु चानचुने दुखको कुरा पक्कै होइन ।

सम्माननीय, कर्मचारीतन्त्र फटाहा, भ्रष्ट र अप्रगतिशिल होइन र यो भन्न पनि मिल्छ जस्तो लाग्दैन । कोही व्यक्ति भ्रष्ट र फटाहा भयो भन्दैमा त्यसको दोष समग्र प्रणालीलाई नै कसरी लगाउन सकिन्छ ? फेरि हामी तयार छौँ भ्रष्ट कोही छ भने सत्य तथ्य छानबिन होस् । सबै निजामती कर्मचारीको आयस्रोत र सम्पत्ति छानबिन गरियोस् र अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याइयोस् । हामी सहर्ष स्वीकार गर्न तयार छौँ । हामी जुनसुकै अदालतमा गएर उभिन तयार छौँ र हाम्रा गतिविधिका सन्दर्भमा जहाँ सुकै गएर पनि जवाफ दिन तयार छौँ । कोही अमुक व्यक्तिले गरेको गल्तीको सजाय सबैले भोग्नुपर्छ भन्दा नितान्त सेवाभावले देश र जनताको लागि काम गर्ने कर्मचारीको मन कस्तो होला ?

सम्माननीय प्र म ज्यु, कर्मचारी राजधानी छोड्न चाहँदैन भन्ने आरोप छ । यो भन्नेले उत्तर देओस्, देश राजनीतिक रूपमा अत्यन्तै असुरक्षित रहेको र जिन्दगी हत्केलामा भएको चरम द्वन्द्वको अवस्थामा उ कहाँ थियो ? उसले भन्नुपर्छ उ असनको गल्लीमा थियो तर हामी कर्मचारी गर्वका साथ भन्न सक्छौँ । हामी गाउँ गाउँमा बृद्धभत्ता बाँड्दै थियौँ । राजनीतिकर्मी, सञ्चारकर्मी, नागरिक समाज साराका सारा विस्थापित भएर सहर पसेको त्यो सन्नाटापूर्ण समयमा जनतासँग कोही थियो भने मात्र गा.वि.स सचिव थियो, निजामती कर्मचारी थियो ।

सम्माननीय प्रधानमन्त्री ज्यु, कर्मचारीले केही मागेको छैन । खटाएको ठाउँमा जान्न पनि भनेको छैन र भन्न पनि मिल्दैन । बरु हजुर नेतृत्वको सरकारले दिन खोजेको एक तह बढुवा र ग्रेड वृद्धि हामीलाई चाहिन्न । हामी यही हालतमा नै जनताको सेवा गर्न तयार छौँ तर हामीलाई हाम्रो वृत्ति विकासको सुनिश्चितता चाहियो । निजामती सेवाको इतिहासमा खरिदार पदमा सेवा प्रवेश गरेको व्यक्ति मुख्य सचिवसम्म भएको इतिहास छ । हामीलाई त्यही व्यवस्थाको सुनिश्चितता चाहियो । प्रदेश र स्थानीय तहमा समायोजन गर्दा हाम्रो तर्फबाट विभिन्न समयमा राखिएका मागहरूको सम्बोधन होस् । हाम्रो तर्फबाट राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनले राखेका मागहरूको सम्बोधन होस् । हामीलाई अरू केही चाहिँदैन । यही परिस्थितिमा कर्मचारी समायोजन गरेर पठाउने हो भने एनिमल फार्ममा मालिकले बेहोर्नु परेको नियति त सरकारले बेहोर्नु नपर्ला तर एउटा गम्भीर प्रकृतिको विचलन पक्कै आउनेछ कर्मचारीतन्त्रमा । तसर्थ सम्माननीय प्रधानमन्त्री ज्यु हजुरको सुन्दर सपना साकार गर्न उत्प्रेरित मन लिएर छिटोभन्दा छिटो प्रदेश र स्थानीय तहमा सेवा गर्न जान पाउँ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस