सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता बनाइने : अध्यक्ष आचार्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता बनाइने : अध्यक्ष आचार्य


१२ पुस २०७५, बिहिबार


दमौली । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना र महासंघ तनहुँको संयोजनमा आज दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन/प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेको उनले बताए।’आचारसंहिता बनाउन महासंघका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारी गरेका छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,’ उनले भने ।

उनले पत्रकारिता क्षेत्र समाजको मार्गदर्शन भएकाले पत्रकार बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । पत्रकारले प्रकाशन/प्रशारण गर्ने सामग्री आचारसंहिताबमोजिम हुनुपर्ने र त्यसो नभए आचारसंहिता उल्लङ्घनमा कारवाही हुने समेत उनको भनाइ थियो । उनले भने, ‘पत्रकारिता पेशामा क्रियाशील नरहेका महासंघका सदस्यलाई बिदाइ गर्ने निर्णय भएको छ, यसलाई कार्यान्वयन गर्छौं’, उनले भने ।

मिडिया दर्ता, वर्गीकरण स्थानीय तहबाट हुनुपर्ने महासंघको धारणा रहेको चर्चा गर्दै उनले संघीयताको अनुभव सञ्चारमाध्यममा समेत हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर सामग्री प्रकाशन/प्रशारण गर्नुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सञ्चारमाध्यमको पवर्द्धनका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताए । पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष विश्वबन्धु भण्डारी, प्रदीप काफ्ले, डम्बर अधिकारी, उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेललगायतले सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस