शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छ : मन्त्री अर्याल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छ : मन्त्री अर्याल


११ पुस २०७५, बुधबार


मालपोत

वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्ने बताएका छन् ।

स्याङ्जा वालिङ–१४ थुमपोखरामा रहेको जनहित माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा आज उनले भने, ‘प्रमाणपत्र प्राप्त गर्नका लागि मात्रै शिक्षा नभई जीवन उपयोगी र कर्मयोगी बनाउनका लागि पनि शिक्षामा परिवर्तन आवश्यक छ ।’

‘हामीले पढ्ने शिक्षालाई कामयोगी बनाउनुपर्छ, शिक्षालाई कर्मसँग जोड्नुपर्छ, प्रमाणपत्रका लागि मात्रै होइन्’, मन्त्री अर्यालले भने, ‘अहिलेको सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको कार्यान्वयनका लागि पहल गरिरहेको छ ।’

उनले दूरीका आधारमा शिक्षालयबाट टाढाटाढा रहेका विद्यार्थीलाई आवाससहितको शिक्षाका लागि सरकार लागिपरेको चर्चा गर्दै दश कक्षा उत्तीर्ण गरेपश्चात् विद्यार्थीको रुचि र चाहनाअनुसारको प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गरिने छ भने ।

‘विकास साझा विषय हो जसले गरे पनि हुन्छ’, मन्त्री अर्यालले भने, ‘गाउँ ठाउँको विकास जसले गरे पनि आखिर जनतालाई नै सहज हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस