सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै


प्रशासन संवाददाता

९ पुस २०७५, सोमबार


परासी । पश्चिम नवलपरासीको सुनवल–४ स्थित डाकापानी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । को सङ्ख्या बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको सिमसार क्षेत्रको अवलोकन गर्नका लागि स्थानीयवासीदेखि पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुसमेत पुग्ने गरेका छन् ।

जङ्गलको बीचमा अवस्थित सिमसार क्षेत्रको संरक्षण गरी आकर्षक पोखरी निर्माण गरिएपछि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको जल पुर्नभरण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेले बताए । सुनवल–४ का स्थानीयवासीको सक्रियतामा सिमसार क्षेत्रको संरक्षण गरिँदै आएको छ ।

मूलपानी सामुदायिक वन र आदर्श सामुदायिक वन क्षेत्रको चार बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीको चारैतिर घुमफिरका लागि ६ मिटर फराकिलो सडक निर्माण गरिएको छ । पोखरी र त्यस वरपरको हरियालीले पर्यटकलाई लोभ्याउने गरेको छ । सिमसारको संरक्षणले अहिले वन्यजन्तु र चराचुरुङगीलाई वासस्थान तथा पानी पिउन सहज भएको छ । जमीन सिँचाइ गर्नसमेत सजिलो भएको अध्यक्ष पाण्डेले बताए ।

सिमसार क्षेत्र नजिकै उत्तरतर्फको प्राकृतिक मुहान डाकापानीबाट बाह्रैमहीना आउने पानी र नालाको रुपमा बगेर आएको खोलाको पानी पोखरीमा बाह्रैमास जम्मा हुन्छ । साढे तीन मिटर गहिरो सो पोखरी माथि बेलिब्रिज निर्माण गरिएको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको रु ६२ लाखको लागत तथा स्थानीयवासीको श्रमदानमा सिमसार क्षेत्रको संरक्षण गरिँदै आएको उपभोक्ता समितिका सदस्य उमाकान्त उपाध्यायले बताए ।

असोजदेखि सो क्षेत्रमा वनभोज खान तथा घुमफिरका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उपाध्याय बताउछन् । सिमसार क्षेत्रमा बँदेल, बाँदर, मृग, घोरल, बाघलगायत जङ्गली जनावर पानी खान आउने गरेका छन् । पोखरीको बीच भागमा रहेको टापुमा पार्क निर्माण गरी पोखरीमा डुङ्गाको व्यवस्था गर्न सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी दशरथ कुमाल बताउछन् ।

सिमसार क्षेत्रको संरक्षणका लागि आवश्यक संरचना निर्माण गरी होमस्टे (घरबास) सञ्चालन गर्न सके पर्यटकीय गन्तव्य बन्नुका साथै स्थानीयवासीले रोजगारी समेत पाउने सम्भावना रहेको स्थानीयवासी बालकृष्ण पौडेल बताउछन् । ‘यस्ता क्षेत्रको संरक्षण र सम्बर्द्धनमा सरकारले विशेष चासो दिनुपर्छ,’उनले भने । पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेपनि बजेट अभावले अन्य संरचना निर्माण गर्न नसकिएको पौडेलले बताए । ‘आकर्षक पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना निर्माण गरी स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने तयारीमा छौँ,’ उनले भने ।

पूर्व–पश्चिम राजमार्गको सुनवल–४ दामोदरकुण्डबाट २ किलोमिटर उत्तरतर्फ तथा सुनवल चोकबाट साढे ४ किलोमिटर पश्चिम उत्तरमा रहेको सिमसार क्षेत्रको प्रचारप्रसार र विकास गर्न सके अत्यधिक पर्यटक भित्र्याउन सकिने सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा बताउछन् ।

प्रतिक्रिया दिनुहोस