आठ बढी प्रजातिका जडीबुटी संकलन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आठ बढी प्रजातिका जडीबुटी संकलन


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


बाजुरा । बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी संकलन गर्न पूर्जी पाएका छन् ।

जडीबुटी संकलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी संकलन गर्नका लागि ४६ जना जडीबुटी व्यवसायीले अनुमतिपत्र लिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका हिमाली गाउँपालिकाको साविकको बिच्छ्या र रुगिन, गौमुल गाउँपालिकाको दहकोट, बूढीनन्दाको कोल्टी, पाण्डुसैन, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागमा विभिन्न आठ बढी प्रजातिका जडीबुटी संकलनका लागि व्यवसायीले सङ्कलन पूर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ ।

जिल्लाका सामुदायिक र राष्ट्रिय वनबाट मङ्सिर र पुस महिनामा चिराइतो, पाषणभेद, कटुकी प्रजातिका जडीबुटी संकलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ ।

यसैगरी टिमुर, रिठा, सुगन्धवाल सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका दर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी संकलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनमा संकलन गर्न थालेको बताए।

पछिल्लो समयमा जिल्लामा पाँचऔँले, जटामसी र सेतक चिनी प्रजातिका जडीबुटी संकलननमा रोक लगाइएको डिभिजन प्रमुख कँडेलको भनाइ छ । यी प्रजातिका जडीबुटी संकलन गरेको पाइएका वन ऐनअनुसार कानूनी कारवाही गरिने डिभिजन प्रमुख कँडेलले राससलाई बताए ।

जिल्लामा संकलन गरिने विभिन्न प्रजातिका जडीबुटीबाट हरेक वर्षमा रु आठ लाखदेखि २२ लाखसम्म राजस्व संकलन हुने गरेको बताइएको छ । फरकफरक प्रजातिका जडीबुटीबाट प्रतिकेजी रु १३ देखि रु २५ हजारमा बिक्री हुने गरेको पाइएको छ ।

जडीबुटीको जातका आधारमा बिक्री हुँदै आएको जिल्ला जडीबुटी व्यवसायी संघ बाजुराले जनाएको छ । नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकाले ५ वर्षसम्म कुनै पनि प्रजातिका जडीबुटी संकलन गर्न प्रतिबन्ध गरेको छ । जडीबुटी व्यवसायीले मनोमानीरुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी संकलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातिका जडीबुटी संकलन हुँदा जडीबुटीको बीउसमेत नपाइने अवस्था रहेको पाइएको छ । व्यवसायीले जडीबुटी संकलन गर्दा जडीबुटीको बीउसमेत संककलन गर्न थालेकाले आउँदा वर्षदेखि जडीबुटी पाउन कठिन हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस