सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती


४ पुस २०७५, बुधबार


जुम्ला । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ ।

सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा भने टेलिफोन सेवाबाट बञ्चित रहेका छन् ।

गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार नै टेलिफोन सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए । निर्वाचनमा मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजा गाउँपालिकाका लागि हटेको छ ।

सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताए ।

श्रीमान् भारत गएको महीना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ, उनले भने । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् ।

हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सञ्चारको लागि करोडौँ रकम छुट्याएको भएपनि अहिलेसम्म टेलिफोन विस्तारमा कुनै काम भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस