चौध सीसी क्यामरा मात्रै सञ्चालनमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चौध सीसी क्यामरा मात्रै सञ्चालनमा


४ पुस २०७५, बुधबार


भरतपुर । सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् । अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिग्रेका क्यामरा मर्मत गरिँदैछ । उनले जिल्लामा ९९ सीसी क्यामरा जडान गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र ३२ सीसी क्यामरा रहेकामा २६ मात्र सञ्चालनमा छन् । भरतपुर महानगरपालिकाको पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठीलगायतक क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ । टिकौली जङ्गलमा गोन्द्राङस्थित एउटा सीसी क्यामराले मात्रै काम गरेको शाहले बताए। अँध्यारोमा समेत दृश्य कैद गर्ने सीसी क्यामरा जडानको तयारी भइरहेको उनले जानकारी दिए । जिल्लामा सात स्थानीय तह छन् । “स्थानीय तहका प्रमुखसँगको छलफलमा राजमार्गको मुख्यमुख्य केन्द्रमा सीसी क्यामरा जडान गर्ने कुरा भइरहेको छ, उनले भने ।

निजी क्षेत्र, महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जडान गरिएका सीसी क्यामरा मर्मतको खर्च महानगरले व्यहोर्ने गरी काम भइरहेको छ । अपराध अनुसन्धान र न्यूनीकरण, सवारीसाधनका चालकले दुर्घटना गराएर भाग्ने, चोरी डकैती, झैझगडा, कुटपिटलगायत अपराध अनुसन्धान गर्न सीसी क्यामराबाट सहयोग पुग्ने शाहले बताए । चोरी गर्न सीसी क्यामरा नै बिगार्ने गरेको घटना हुने गरेकाले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस