सूनपाद्वारा सडक विस्तार, आजबाट संरचना भत्काउन शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सूनपाद्वारा सडक विस्तार, आजबाट संरचना भत्काउन शुरु


१ पुस २०७५, आइतबार


भक्तपुर । सडक विस्तारकार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ ।

आज भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो ।

स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको रु २० लाख र नगरपालिकाको रु ३० लाख गरी कूल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताए ।

सडकलाई आठ मिटरको चौडा बनाउने र त्यसमा ढल, खानेपानीको पाइप, फुटपाथ र कालोपत्र गर्ने गरी विस्तारकार्य शुरु गरिएको र आगामी दुई महीनाभित्र सबै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए ।

वडाअध्यक्ष जोशीले यसअघि नै पटक–पटक घरटहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको बताए । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको उनको भनाइ छ ।

नगरपालिकाका इञ्जिनीयर जनक न्यौपानेका अनुसार सडक विस्तारका क्रममा गुणस्तरीयता कायम राख्न दैनिक इञ्जिनीयरसहितको टोलीले अनुगमन एवं निरीक्षण गर्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस