नास्टमा कर्मचारी अभाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नास्टमा कर्मचारी अभाव


१ पुस २०७५, आइतबार


ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा कर्मचारी अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा कर्मचारीको अभाव भोग्नुपरेको हो ।

नास्टले केही वर्ष पहिलेदेखि शुरु गरेको भूकम्पीय सूचना प्रणाली कार्यक्रमका साथै सञ्चालन भइरहेका अरु कार्यक्रमका लागि पनि जनशक्तिको अभाव भइरहेको प्रविधि सङ्कायका प्रमुख इञ्जिनियर डा प्रसाद ढकालले बताए । प्रादेशिक संरचनाअनुसार हरेक प्रदेशमा एक/एक शाखा खोल्ने लक्ष्य नास्टको छ । उनले भने, “तर त्यसका लागि पर्याप्त जनशक्तिको खाँचो पर्छ ।”

नास्ट आफैँले सेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्न नमिल्ने भएकाले पनि यहाँ कर्मचारीको अभाव भएको हो । लोकसेवा आयोगको प्रक्रिया बमोजिम कर्मचारी नियुक्ति गर्दा समय लाग्ने भएकाले पहिले नास्ट आफैँले करारमा कर्मचारी नियुक्ति गर्दै आएको थियो । प्रविधि सङ्कायमा अहिले झण्डै २५ कार्यरत छन् ।

बीस जनासम्म कर्मचारी थप भए काम गर्न सहज हुने उल्लेख गर्दै उनले एक त देशभरमा नै प्राविधिक कर्मचारी पर्याप्त नहुनु र भएका पनि अध्ययनका लागि विदेश जाँदा यहाँ कर्मचारी अभाव रहेको प्रमुख ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस