एमबिबिएस सम्भाव्यता अध्ययन टोली जुम्लामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमबिबिएस सम्भाव्यता अध्ययन टोली जुम्लामा


१ पुस २०७५, आइतबार


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ ।

प्राध्यापक डा. गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको टोली शनिबार जुम्ला आएको हो ।

टोलीमा विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य, शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र र कर्णाली प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले रहेका छन् । एमबिबिएस अध्ययन शुरु गर्दा आइपर्ने समस्या, चुनौती र सम्भावना अध्ययन गरी प्रतिवेदन तयार गर्ने र शिक्षा मन्त्रालयलाई बुझाउने कार्यदलको योजना रहेको छ ।

टोलीले अस्पतालको गहनरूपमा निरीक्षण गरेको छ । टोली दुई दिन जुम्लामा बस्ने योजना रहेको छ । शिक्षा मन्त्रालयले खोजेका सबै पक्षलाई अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यदलका संयोजक प्रा. डा. गिरीले बताए । कार्यदलले प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतसहित राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा प्रतिष्ठानसँग बैठक बसी गहनरूपमा छलफल गरेको छ ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले प्रतिष्ठानको ऐनमा पनि कर्णाली प्रदेशको जुम्लामा एमबिबिएस अध्ययनका लागि व्यवस्था गरेको बताए । उनले भने, “कर्णाली प्रदेशको जुम्ला १० जिल्लाको केन्द्र पनि हो र अन्तर जिल्ला सडक संजालले जोडिएकोले विरामी आउन जान सहज भएकोले पनि यहाँ एमबिबिएस कार्यक्रम संचालन गर्न उपयुक्त छ ।”

प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंका अनुसार टोलीले यहाँ एमबिबिएस पढाइका लागि प्राध्यापक भर्ना गर्ने प्रक्रिया सुरु भइसकेको छ । उनले भने, “त्यस्तै आवश्यक पूर्वाधार तयारीमा जुटेका छौँ । आधारभूत विज्ञान प्रयोगशाला तथा पाठ्यक्रम तयार पार्ने काम पनि भइरहेको छ ।”

जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरामा स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले २०६८ सालमा जुम्लामा यो प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थेसिया) सहायक तर्फका पढाइ सञ्चालन गरिरहेको छ । चालु शैक्षिक सत्रमा स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरु गराउन प्रवेश परीक्षा लिइसकेको प्रतिष्ठानले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस