कविका कविताबाटै बन्दछ कविको छवि।
पुग्दछन् कवि सर्वत्र, नपुग्लान् बरु ती रवि।।
भावना, साधनासाथ रच्दछन् कविता कवि।
उजागर गर्नका लागि दृष्टिगत हुन्छ जे जति।।
नचाहिँदो प्रवृत्तिको विरुद्ध शब्द रोज्दछन्।
सुसंदेश छर्नका निम्ति मूल मार्ग ती खोज्दछन्।।
छर्दछन् ज्ञानको बीज उम्रने, हुर्कने गरी।
सूर्यको, चन्द्रको तेज, फूलको वासना सरी।
कविता कविता हुन्न, अभाव भावको भए।
रहन्न कविको ओज, भ्रष्टका मतिमा गए।।
धर्म हो कविको कर्म, रचना रुचिलो हुँदा।
मर्म त्यो कविता दिन्छ, मुटु र मनमा छुँदा।।
बढोस् त्यो कविता धारा, पखाल्न मनको मल।
चढोस् ती कविको कीर्ति, बगाई जल निर्मल।।