दीक्षित विद्यार्थीलाई स्वदेशमै अवसर सिर्जना गरिन्छ : मन्त्री पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दीक्षित विद्यार्थीलाई स्वदेशमै अवसर सिर्जना गरिन्छ : मन्त्री पोखरेल


प्रशासन संवाददाता

२८ मंसिर २०७५, शुक्रबार


बनेपा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय तथा प्राविधिक शिक्षालयबाट दीक्षित विद्यार्थीलाई स्वदेशमा नै काम गर्ने अवसर सिर्जना गर्न सरकार तल्लनी रहेको बताएका छन् ।  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २४औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै मन्त्री पोखरेलले दीक्षित विद्यार्थीलाई शिक्षामा असाधारण ढङ्गले प्रगति गरेका मुलुकको सफलताको कथा अध्ययन गर्न आग्रह गरे ।

उनले भने, ‘यो बेलामा दीक्षितभएका विद्यार्थीले आफ्नो सीप, ज्ञान र स्वभावलाई समाजसम्म पुर्‍याउन आग्रह गर्दछु ।’ उनले आगामी पुस ५ गते प्रधानमन्त्रीको उपस्थितिमा संघीय शिक्षा नीतिको पहिलो मस्यौदाका बारेमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा मन्त्रालय रहेको बताए।

सरकार यतिबेला २५ वर्षे रणनीति बनाउन लागिरहेको अवस्था भएकाले त्यसमा सबैको सहयोग र सल्लाह दिनसमेत आग्रह गरे । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले उच्चस्तरका शैक्षिक अवसर देशमा नै सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले प्राज्ञिक संस्थाले उद्योग र उद्यमशीलताको विकासमा विशेष भूमिका खेल्ने भएकाले औद्योगिक क्षेत्र, निजी क्षेत्र र नयाँ उद्यमीलाई विश्वविद्यालयसँग हातेमालो गर्न आह्वान गरे ।

समारोहमा चीनका वरिष्ठ वैज्ञानिक तथा सन यात्सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्राध्यापक जुन लुओको उपस्थिति थियो । काठमाडौँ विश्वविद्यालयले पहिलोपटक नेपाली र इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स गरी दुई विधामा पिएचडी उपाधिसमेत प्रदान गरिएको छ ।

स्नात्तकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने चान्सलर स्वर्णपदक स्कूल अफ साइन्सका मास्टर अफ फार्मेसीमा ३.९८ सिजिपिए प्राप्त गर्ने अनिसा शाक्यलाई र स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने भाइस चान्सलर स्वर्ण पदक स्कूल अफ साइन्सबाट नै बायोटेक्नोलोजी विषयमा ३.९९४ सिजिपिए ल्याउने सन्देश आचार्यलाई प्रदान गरियो ।

यसैगरी एमबिए तहमा सबैभन्दा बढी सिजिपिए ल्याउने विद्यार्थीलाई प्रदान गरिने जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कूल अफ मेनेजमेन्टबाट एमबिएमा ३.९५ सिजिपिए ल्याउने मेरिना श्रेष्ठलाई र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्ण पदक स्कूल अफ मेनेजमेन्ट कै एमबिए तहमा ३।७६ सिजिपिए ल्याउने सर्वोत्कृष्ट विद्यार्थी निदीप पन्तलाई प्रदान गरिएको थियो ।

विश्वविद्यालयको यस दीक्षान्तमा मेनेजमेन्ट, साइन्स, इञ्जिनीयरिङ, मानविकी र शिक्षा सङ्कायका १४ पिएचडी र ५१ एमफिलसहित स्नातक र स्नात्तकोत्तर तहका एक हजार ३०० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा मेनेजमेन्टका ४५१, साइन्सका २५७, इञ्जिनीयरिङका २७९, मानविकीका २२७ र शिक्षा सङ्कायका १४७ रहेका छन् ।

दीक्षित हुने विदेशी विद्यार्थी अष्ट्रेलिया, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, भारत, पाकिस्तान, आयरल्याण्ड, बेलायत र अमेरिकाका विद्यार्थी गरी २० रहेका छन् ।

यसअघि काठमाडौं विश्वविद्यालयको गत मङ्सिर ७ गते २४ औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रममा मेडिकल साइन्सतर्फका विद्यार्थीलाई दीक्षित गर्न समारोह आयोजना गरिएको थियो ।

दुवै चरणका कार्यक्रममा गरी २४ औँ दीक्षान्त समारोहमा दीक्षित हुनेको सङ्ख्या दुई हजार ९१६ रहेका छन् जसमा श्रीलङ्का र माल्दिभ्ससहित १२ देशका गरी १८१ रहेका छन् । यस समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट २८ हजार ७९४ दीक्षित भइसकेको विश्वविद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस