भित्रिए ११ महिनामै १० लाख विदेशी पर्यटक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भित्रिए ११ महिनामै १० लाख विदेशी पर्यटक


प्रशासन संवाददाता

२७ मंसिर २०७५, बिहिबार


लामो समयदेखिको लक्ष्य बन्दै आएको १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी सपना पूरा भएको छ। ‍सन् २०१८ को ११ महिनामै १० लाख बढी विदेशीले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार चालू जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९३० जना विदेशीले नेपाल यात्रा गरेका छन्।

बोर्डले यसलाई एेतिहासिक उपलब्धी भनेको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को भन्दा १७ प्रतिशतले बढी हो । यो हवाई जहाजबाट आएकाहरूको संख्या हो। यो वर्ष १२ लाख पर्यटक ल्याउने लक्ष्य लिएको सरकारका लागि लक्ष्य पूरा हुने सम्भावना भने न्यून रहेको छ।

नेपालमा सबैभन्दा बढी भारतीयहरु अएका छन्। भारतबाट यो बीचमा २ लाख ६० हजार १२४ जनाले हवाइ यात्राबाट नेपाल आएका छन्। त्यस्तै दोस्रोमा चिनियाँहरू रहेका छन्। ११ महिनामा १ लाख ३४ हजार ३६२ जना चिनियाँले नेपाल भ्रमण गरेका छन्।

नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशहरुमा अमेरिका तेस्रो रहेको छ। जहाँबाट यो ११ महिनामा ८२ हजार ५५५ आएका छन् भने संयुक्त अधिराज्यबाट ५७ हजार आएका छन् भने जर्मनीबाट ३४ हजारले नेपाल भ्रमण गरेका छन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी यो सफलताको श्रेय पर्यटनसम्बद्ध सबैलार्इ जाने बताउँछन् । ११ महिनामै १० लाख पर्यटक भित्रिनुले नेपाल भ्रमण वर्ष २०२०लाई बलियो आधार दिने पनि उनले बताए ।

सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस