स्थानीय निकायमा ‘बर्थिङ सेन्टर’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय निकायमा ‘बर्थिङ सेन्टर’


२७ मंसिर २०७५, बिहिबार


विराटनगर । मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो । ‘वर्थिङ सेन्टर’ को सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् ।

धनपालथान गाउँपालिकाले ‘वर्थिङ सेन्टर’ मा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई रु पाँच हजारका साथै नेपाल सरकारले दिँदै आएको रकममा थप पाँच सय प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बर्थिङ सेन्टरमा सुुत्केरी गराउने महिलालाई निःशुुल्क औषधि र अन्य सेवासमेत दिँदै आएको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठले बताए । सेवा सञ्चालनमा आएपछि प्रसूति गराउन सहज भएको सोही गाउँपालिकाका–३ वथुनीदेवी यादवको भनाइ थियो ।

विगतमा ग्रामीण क्षेत्रमा सेवा सञ्चालनमा नहुँदा सामान्य प्रसूतिका लागि विराटनगरको कोशी अञ्चल अस्पताललगायत अन्य निजी नर्सिङहोममा आउने बाध्यता समेत अन्त्य भएको छ । स्थानीय निकायमा उक्त सेवा सञ्चालन भएपछि विपन्न वर्गका महिला बढी लाभान्वित भएका छन् ।

प्रसूति सेवाका कुनै खर्च नलाग्ने तथा सहज रूपमा आफ्नै क्षेत्रमा सेवा प्राप्त भएकामा धनपाल–२ की रामदुलारी महतोले खुशी व्यक्त गर्दै उक्त सेवालाई अझ विस्तारमा जोड दिए । सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालन गर्नु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आउने सङ्ख्यामा वृद्धिले आमा तथा बच्चाको मृत्यु सङ्ख्यामा समेत न्यूनीकरण गर्न सहयोग पुगेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस