छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत


प्रशासन संवाददाता

२६ मंसिर २०७५, बुधबार


भक्तपुर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् ।

भक्तपुर र काठमाडौंको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका छन् ।

जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भने, ‘देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको ८ ९ महिना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्नेछ ।’

मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताए ।

मन्त्री बस्नेतले भने, ‘उद्यानको यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)निर्माण सकिएलगत्तै उद्यान निर्माण शुरु हुन्छ, बजेट दिन अर्थमन्त्रालय सकारात्मक छ, ३ चरणमा निर्धारित समय मै सम्पन्न हुने प्राणी उद्यान निर्माण कार्यको पहिलो चरणको काम यहीवर्ष सम्पन्न हुन्छ ।’

सांसद महेश बस्नेतले भक्तपुरको सफाइ अभियान नेपालकै नमूना अभियान भएको बताउँदै ३ महीनाभित्र भक्तपुरमा धूलोसमेत नउड्ने गरी सफा हुने दाबी गरे ।

अरनिको राजमार्गखण्डको सर्भिस ट्रयाकलाई तत्काल खाली गर्न, फुटपाथमा राखिएको पसल विकल्प दिएर हटाउन यहाँका वडाध्यक्षलई निर्देशन दिँदै उनले भक्तपुरलाई सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाको सुरक्षित, उज्यालो र सफा बनाउन भोलिदेखि नै काम शुरु हुने बताए । उनले प्राणी उद्यानको काम तीव्र गतिमा सञ्चालन गर्न र पर्याप्त बजेट पठाउन अर्थमन्त्रालयसँग आग्रह गर्दै बस्नेतले प्राणी उद्यानलाई यस वर्ष रु ३३ करोड बजेट मात्रै आएकाले कम्तीमा २ अर्ब बजेट पठाउन माग गगरे।

त्यस्तै मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक र बनेपा नगरपालिकालाई फोहर संकलन गर्ने डस्टबिन वितरण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस