देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

२२ मंसिर २०७५, शनिबार


इन्जिनियर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनीयता बढाउनु पर्नेमा जोड दिएका छन् । सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

“तपाईँहरूको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रिय आकाङ्क्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रूपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । “समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो” प्रधानमन्त्री ओलीले भने “यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरूको साथ सहयोग जरुरी छ ।”

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ” प्रधानमन्त्री ओलीले भने, “केही मानिसहरूले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ । ”

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरू सहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस