पेन्सनको रकमबाट अक्षयकोषको स्थापना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पेन्सनको रकमबाट अक्षयकोषको स्थापना


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


दिपायल सिलगढी नगरपालिका वडा नं. ६ निवासी श्रीमती धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा १ लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

२०५८ सालमा डोटी बहुमुखी क्याम्पसबाट सेवा निबृत् भएका स्वः जोशीको २०६३ सालमा देवसान भएको थियो । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने १ जना छात्रा र १ जना छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गरिने जोशीले बताईन् ।

उनले भनिन् ‘आफुले त्रिभुवन विश्व विद्यालयबाट पाएको पेन्सनबाट केही रकम बचत गरी शिक्षा क्षेत्रमा समर्पित नेपाली भाषा र साहित्यको उन्नयन चाहने आफ्ना पतिको इच्छा पूरा गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेकी छु यो रकमबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुगोस ।’

२०२० सालदेखि लगभग ४ दशकसम्म अनवरत प्राध्यापन सेवा गरेका गुरुको ज्ञान गरिमाले सिञ्चित दक्ष जनशक्ति आज देशका विभिन्न क्षेत्रमा स्थापित भएका छन् स्वःगुरुजीको विचार र भावनाको कदर गरेर क्याम्पसले उनीलाई प्रेरणा स्रोतका रूपमा सदैव स्मरण गरिरहने डोटी बहुमखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले बताए ।

स्वःगोपाल गुरुजीको सादा जीवन र सरल व्यवहारबाट आफु प्रभावित भएको उल्लेख गर्दै गुरुजी मात्र नभएर शिक्षाको महत्वपुर्ण योगदान पुर्याउने अमर गुरु समाजलाई बाटो देखाउने अभिभावकका रूपमा सम्झीरहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासीले बताइन् ।

डोटी क्याम्पसको स्थापना कालमा उनको योगदान महत्वपूर्ण रहेको पाईन्छ उनी स्वार्गारोहण भएको १ दशक भएपनि उनी एक उज्जल नक्षत्र, संस्कृत भाषाका ज्ञाता सधैं अध्ययन र अनुशीलनमा तल्लीन रहने उनको व्यक्तित्व सदैव स्मरणीय र उदाहरणीय रहेको डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन कुमार देउवाले बताए । डोटी क्याम्पसले आयोजना गरेको एक समारोहमा धनकुमारी जोशीद्वारा क्याम्पस प्रमुख कृष्णबहादुर कठायतलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस