अब टोकन प्रणालीका आधारमा श्रम स्वीकृति, सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यता हट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अब टोकन प्रणालीका आधारमा श्रम स्वीकृति, सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यता हट्यो


१६ मंसिर २०७५, आइतबार


वैदेशिक रोजगार विभाग

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजरूपमा सेवा दिन आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरिएको छ ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलले टोकन प्रणाली सुरु गरेको हो ।

श्रम स्वीकृति लिन कामदारलाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु गरिएको कार्यालयले जनाएको छ । टोकनमार्फत् नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणलगायत काम गरिनेछ ।

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनका आधारमा टोकन नम्बर सेवाग्राहीलाई उपलब्ध गराउने र टोकनमा उल्लेख गरिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीअन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग लगायतका सेवा पनि टोकनका आधारमा पाउने विभागले जनाएको छ । यसका लागि सेवाग्राहीले विभागको वेबसाइटमा गई फाराम भर्नुपर्नेछ ।

टोकन प्रणाली लागू भएसँगै सेवाग्राहीले श्रम स्वीकृतिका लागि दिनभर लामो लाइनमा बस्ने बाध्यता अन्त्य हुने कार्यालयको दाबी छ । यस्तै, बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत समस्या समाधान हुने कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस