लोक सेवा तयारी : महत्वपूर्ण प्रश्न तथा उत्तरहरू « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा तयारी : महत्वपूर्ण प्रश्न तथा उत्तरहरू


प्रशासन विशेष ब्युरो

१५ मंसिर २०७५, शनिबार


खुला सरकार

१) खुला सरकार साझेदारिता भनेको के हो ?
खुला सरकार साझेदारिता संघीय र प्रादेशिक सरकारको तहमा नागरिक सशक्तीकरण, पारदर्शिता, भ्रष्टाचार विरुद्धको नियमित लडाइ, नवीन प्रविधिको प्रयोगद्वारा शासकीय संरचनाको सशक्तीकरणद्वारा खुला सरकारको प्रवद्र्धन गर्ने बहुपक्षीय संरचना हो । २० सेप्टेम्बर २०११ का दिन संयुक्त राष्ट्र संघको महासभा को दौरानमा भएका समानान्तर वैठकको परिणति स्वरूप खुला सरकारको अवधारणा आएको हो । संयुक्त राज्य अमेरिका, ब्राजिल, इन्डोनेसिया, संयुक्त अधिराज्य, नर्बे, मेक्सिको, फिलिपिन्स, दक्षिण अफ्रिकाका सरकार प्रमुखहरू अभियानका संस्थापकको रूपमा छन् । यी सरकार प्रमुखहरूले खुला सरकार घोषणा पारित गरेका छन् ।

२) खुला सरकार घोषणाका विषयवस्तुहरू के-के हुन् ?
क) सरकारी कार्यहरूको सूचना उपलब्धतामा बढोत्तरी गर्ने,
ख) नागरिक सहभागितालाई बढावा दिने,
ग) प्रशासकहरूमा उच्च स्तरको इमान्दारिता अभिवृद्धि गर्ने,
घ) खुलापन र उत्तरदायित्वको सुनिश्चितताको लागि नवीन प्रविधिको पहुँच र उपयोगलाई प्रोत्साहन गर्ने,
ङ) २१ औं शताब्दीको खुला सरकारको संस्कृतिको अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारिता र सहकारिताप्रति प्रतिवद्ध रहने ।
खुला सरकार साझेदारिताको अवधारणाको सुरुवात ८ राष्ट्रबाट भएकोमा प्रारम्भमा यसमा ३८ देशका सरकारको सहभागिता रहेको र हाल ७५ देशहरू सहभागी छन् ।

३) प्रजातन्त्रका अन्तरवस्तुहरू के-के हुन् ?
बहुमतकोे शासन र अल्पमतको अधिकारको माग गर्ने स्वतन्त्रताः प्रजातन्त्रमा बहुमतले शासन गर्छ र अल्पमतले अधिकारको माग गर्ने स्वतन्त्रता राख्छ । जन अधिकारको प्रत्याभूतिको लागि केन्द्रित सरकार र विकेन्द्रित अवधारणाअनुरूप गठित क्षेत्रीय र स्थानीय सरकारहरू प्रजातन्त्रमा जनताको पहुँचको सुनिश्चितताको प्रबन्ध गरिएको हुन्छ ।

बालिग मताधिकारको आधारमा निर्वाचन : प्रजातन्त्र सरकारको त्यस्तो स्वरूप हो, जहाँ राज्यका सबै शक्तिहरू बालिग मताधिकारको आधारमा निर्वाचित जन प्रतिनिधिहरूवाट जन उत्तरदायित्वको भावनामा रहेर प्रयोग हुन्छ । आवधिक स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रजातन्त्रको मूलध्येय हो ।

जन अधिकारको प्रत्याभूति : प्रजातन्त्रमा जन अधिकारको प्रत्याभूतिको साथै जनताले निर्वाचनद्वारा राजनीतिमा सहभागिता र अधिकार प्राप्तिका लागि आवश्यक कार्य गर्न सक्ने व्यवस्था गरिएको हुन्छ ।

आधारभूत स्वतन्त्रता र अधिकारको प्रत्याभूति : प्रजातन्त्रमा आधारभूत मानवअधिकार, व्यक्तिगत अधिकार, जीवनको अधिकार, व्यक्तिगत विकासका अधिकार, राजनीतिक अधिकार, कानुनको शासन, शक्ति पृथकीकरणजस्ता विषयहरूको प्रयोगले आधारभूत स्वतन्त्रता र अधिकारको प्रत्याभूति गरेका हुन्छन् ।

कानूनको सर्वाेच्चता : प्रजातन्त्रको मूल आदर्श भनेको आधारभूत मानव अधिकारको संरक्षण गर्न, सबै जनताहरूमा कानुनको समान व्यवहार हुने, कानुनको सर्वाेच्चता जस्ता विशेषताहरू रहेको हुन्छन् ।

शक्ति पृथकीकरण : राज्यका अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरूको अधिकार क्षेत्रको विभाजन ‘शक्ति पृथकीकरण’को माध्यमद्वारा राज्यको शक्ति एकैठाउँमा केन्द्रित हुन नदिई जन अधिकारको रक्षा गर्ने परिपाटीको विकास गरिएको हुन्छ ।

संस्कृति भाषा, धर्मको प्रवर्धन गर्ने अधिकार : प्रजातन्त्रमा हरेक जनतालाई आफ्नो संस्कृति भाषा, धर्मको प्रवद्र्धन गर्ने अधिकार रहेको हुन्छ ।

प्रजातन्त्रका सकारात्मक उपज : शान्ति, आर्थिक सामाजिक, सांस्कृतिक विकास प्रजातन्त्रका सकारात्मक उपजहरू हुन्, तसर्थ मानव अधिकार, विकास, शान्ति प्रजातन्त्रका अन्तर सम्बन्धित विषयहरू हुन् ।

४) राजनीतिक विकास भनेको के हो ?
प्रजातान्त्रिक राजनीतिक तथा शासकीय प्रणाली, आवधिक स्वतन्त्र र निष्पक्ष निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, शक्ति पृथ्कीकरण र सन्तुलन जस्ता विषयहरू राजनीतिक विकासअन्तर्गत पर्छन् । राजनीतिक परिपाटीमा स्वस्थ प्रतिस्पर्धा, निष्पक्ष निर्वाचनद्वारा जन अभिमतको कदर, सहिष्णु राजनीतिक प्रणाली जस्ता विषयहरू राजनीतिक विकासअन्तर्गत पर्छन् । प्रजातान्त्रिक राजनीतिक प्रणाली, राजनीतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रक्रियाको आवश्यकीय सर्तको रूपमा लिने गरिन्छ ।

५) आर्थिक विकास भनेको के हो ?
प्रतिव्यक्ति आयमा वृद्धि, कूल राष्ट्रिय उत्पादनमा वृद्धि, पूर्वाधार विकास, उद्योगधन्दाहरूको विकास जस्ता विषयहरू आर्थिक विकासमा पर्छन् । अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ । आर्थिक विकासलाई निम्न मात्रात्मक सूचकहरूबाट मापन गर्न सकिन्छ ।
 प्रतिव्यक्ति आयमा वृद्धि
 कूल राष्ट्रिय आयमा वृद्धि
 उत्पादन क्षमतामा वृद्धि
 उद्योगको स्थापना
 पूँजीको प्रवाह
 मेसिन, प्रविधि र औजारमा विविधीकरण
 पूर्वाधारको विकास
 प्राकृतिक स्रोत र साधनको समुचित परिचालन
 आर्थिक वृद्धि
 सहरीकरण
 आम्दानी र सम्पत्तिको समान वितरण

६) सामाजिक विकास भनेको के हो ?
आम सरोकारका विषयहरू खास गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सांस्कृतिक विकास र संवद्र्धन, सीमान्तकृत वर्गको उत्थान, आदिवासी जनजातिहरूको उत्थान, सुसंस्कृत स्वस्थ, सभ्य र सामाजिक अन्तरसम्बन्धको विकास जस्ता विषयहरू सामाजिक विकासमा पर्छन् । समाजशास्त्रीय अवधारणाले आर्थिक वृद्धिसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ ।

सामाजिक विकासलाई निम्न गुणात्मक सूचकहरूबाट मापन गर्न सकिन्छ ।
 शिक्षा, स्वास्थ्य र पोषण
 आत्मनिर्भरता
 राजनीतिक स्वतन्त्रता, स्व निर्णयको अधिकार
 राजनीतिक स्थिरता, शान्ति र सुरक्षा
 रोजगारीको अवसर
 आर्थिक, न्यायिक समानता र मानव अधिकार
 सुशासन
 सामाजिक सद्भाव

७) संस्थागत विकास भनेको के हो ?
प्रजातान्त्रिक शासन प्रणाली र सोअनुरूप विभिन्न राजनीतिक र शासकीय संरचनाहरूको विकास, यस्ता संस्थाहरू विधिसम्मत रूपमा चल्नको लागि आवश्यक कानुनी संरचनाहरूको विकास संस्थागत विकास अन्तरगत पर्छन् । यसै अवधारणाअनुरूप निजी क्षेत्र, नागरिक समाज, सहकारी क्षेत्र जस्ता संस्थाहरूको शासकीय प्रक्रियामा सहयोगी र साझेदारिता रहने गरी आवश्यकीय संस्थागत संयन्त्रहरू विकास गरिएका हुन्छन् ।

८) सूचनाको हकको स्वतन्त्रताका फाइदाहरू के–के हुन् ?
सूचनाको उपलब्धता र प्रयोगमा हुने खुलापन तथा पारदर्शिताले सरकार र जनताको तहमा निम्न पक्षहरूमा सहयोग पुग्छ :
क) प्रजातान्त्रिक शासन प्रणालीको अभिवृद्धिमा अत्यधिक सहभागिताको प्रवद्र्धन, जन सवलीकरण र निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि ।
ख) जनउत्तरदायी शासकीय संयन्त्रको विकासमा सहयोग
ग) भ्रष्टाचार न्यूनीकरणमा सहयोग
घ) सरकारप्रति जनविश्वासमा अभिवृद्धि
ङ) कानुनी शासनको परिपालनामा सहजता
च) सरकारको कामको प्रभावकारितामा अभिवृद्धि
छ) सरकारी सेवा प्रवाहको पहुँचको प्रभावकारितामा अभिवृद्धि

स्रोत
दामोदर रेग्मी, संघीय शासन प्रणाली, सुशासन र विकास, ऐश्वर्य प्रकाशन
प्रशासन डट कममा प्रकाशित दामोदर रेग्मीका विभिन्न लेखहरू, प्रशासन डट कम अनलाइन
विभिन्न पत्र पत्रिकाहरू

Tags :
प्रतिक्रिया दिनुहोस