महिला-पुरुषको सहभागिताले मात्र सम्भव छ लैङ्गिक हिंसा अन्त्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिला-पुरुषको सहभागिताले मात्र सम्भव छ लैङ्गिक हिंसा अन्त्य


१५ मंसिर २०७५, शनिबार


हिंसा

अचेल हरेक बिहानको अखबारका पाना, सामाजिक सञ्जाल र विभिन्न न्युज पोर्टलहरूको भित्ता बलात्कार र हत्या जस्ता समाचारहरूले भरिएका हुन्छन् । यसप्रति चासो राख्नेहरूको संख्या पनि बढ्दो छ । सामाजिक सञ्जालका भित्ताहरूमा हिंसा र महिलामाथि हुने बलात्कार, हत्या, हिंसा, घरेलु हिंसा आदिले भरिएको देखिन्छ । लाग्छ- समाजमा अपराधका घटना मात्र छन् । मानिस यसैभित्र रुमल्लिरहेको छ । तर, सबै मानिस अपराधमा संलग्न छैनन् । संलग्न नभएकाहरू समेत यही वरिपरि घुम्न बाध्य छन् ।

मानवता विरुद्धका अपराध बढिरहेको भए पनि सचेत मूलक कार्यक्रमहरू दिनदिनै भइरहेका पनि छन् । महिलामाथि हुने सबै किसिमका हिंसा मानवता विरुद्धका अपराधको रूपमा लिन नसक्दा यो बढिरहेको छ ।

महिला हिंसा, हत्या र आतंकले समग्र महिला जातिहरूको मनोबल झरेको अवस्थामा पनि अहिले हामीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विभिन्न कार्यक्रमहरू गरी मनाइरहेका छौँ । यो अभियान मनाउन थालेको पनि धेरै वर्ष भइसक्यो । तर, पनि महिला विरुद्ध हुने हिंसामा कुनै कमी आएको पाइँदैन ।

जिल्ला सदरमुकाम धादिङबेसी क्षेत्रमा सबैभन्दा बढी सचेतनाका अभियान चलेको नीलकण्ठ नगरपालिका क्षेत्रमा सबैभन्दा बढी महिलामाथि हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

महिलाहरूले आफ्नो पीडालाई सतहमा ल्याउने सामर्थ्य अहिलेसम्म प्राप्त गर्न सकेका छैनन् । ल्याएकाहरूले पनि आफूमाथिको हिंसा कम गर्न सकिरहेका छैनन् । समाज, नाता, कुटुम्ब आदि जस्ता व्यवधानहरूले गर्दा आफ्नो समस्यालाई सतहमा ल्याउन नसकिएको बताउँदै आएका छन् अहिले पनि महिलाहरूले ।

यसरी महिला हिंसाको लागि विभिन्न खाले कार्यक्रमहरू भइराखे पनि यसले उचित परिणाम अहिलेसम्म दिन सकेको छैन । अहिले महिलाहरू बाहिरी दुनियाँभन्दा पनि आफ्नै घरभित्र बढी असुरक्षित महसुस गर्ने गरेका छन् । सासूले बुहारीलाई, नन्दले भाउजूलाई, आफन्तले आफन्तलाई गर्ने हिंसाको कहालीलाग्दो रूपले अहिले पनि समाज टाढा छैन । घरायसी हिंसाले जसरी विकराल रूपको सिर्जना गरेको छ, त्यसको परिधिमा बलात्कारले झनै उग्र रूप लिएको छ । उदाहरणको लागि; कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई लिन सकिन्छ । ती अबोध बालिकाले समाजमा के त्यस्तो दुष्कर्म गरेकी थिइन् र उनले बलात्कारजस्तो जघन्य अपराधको सामना गरी मृत्युवरण गर्नुपर्‍यो । यसको उत्तर अहिलेसम्म कसैले पनि दिन सकेको छैन । एउटी अबोध बालिकाको हत्यारा पत्ता लगाउन नसकेको अवस्थामा लैंगिक हिंसाको अन्त्य भन्दै ताली पिटेर कार्यक्रम गर्नु न्याय हुन्छ ? यो अर्को गहन प्रश्न हो । यसरी हरेक वर्ष महिलाहरूको नाममा गरिने यस्ता चेतनामूलक कार्यक्रमहरूले केही समयलाई रोक्ला । तर, फेरि अवस्था उही नै हो ।

यसै प्रसङ्गमा धादिङको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना बताउनुहुन्छ- महिला, हिंसाविरुद्ध डर, त्रास र धम्कीका कारण अझै पनि धेरै महिलाहरू खुलेर बाहिर आउन सकेका छैनन् । जसका लागि हामीले वर्षैभरि यस्ता महिलामैत्री कार्यक्रमहरू गर्ने तयारी गरेका छौँ । उपाध्यक्ष तिमल्सिनाको भनाइलाई मान्ने हो भने महिला हिंसाका सन्दर्भमा यस्ता कार्यक्रमहरूले महिलाहरूमा सचेतना र ज्ञानको विकास नहोला भन्न सकिँदैन ।

महिला सशक्तीकरण अभियानअन्तर्गत विश्व जगतमा सन् १९९१ देखि प्रत्येक वर्ष अङ्ग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको ‘लैंगिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ सुरु भएको १६ दिने अभियान अब तीन सय ६५ दिन नै सञ्चालन गर्दा के फरक पर्ला र !

महिला भन्नु भनेको आमा हो, जीवनसाथी हो, बहिनी हो, दिदी हो, भन्ने बुझाइलाई सचेत पार्ने यो अभियानमा महिला मात्रको सहभागिता काफी छैन ।

यो महिलाको मुद्दा हो भनेर पुरुष पर बस्ने हो भने महिला विरुद्धको अपराधले फेरि पुरुषलाई सिध्याउँछ । हामी महिला वा पुरुष दुवैले यतातर्फ ध्यान दिन जरुरी छ । एउटा आमालाई समस्या पर्दा उसको छोराले सघाउँदैन भने त्यो छोरा हुन सक्दैन । एउटा बहिनीमाथि अपराध भएको हेरेर उसको दाइ बस्छ भने त्यसलाई दाइ भन्न उचित हुन्न ।

आफ्नो जीवनसाथी माथि हुने अपराधमा उसको श्रीमान् महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन सक्दैन भने श्रीमान् हुनुको अर्थ छैन । यदि आफ्नो घरमा यस किसिमको घटना हुन्छ भने सबैले मिलेर मानवता विरुद्धको अपराधविरुद्ध बोल्नै पर्छ । यसरी एउटालाई पर्दा अर्कोले सहयोग नगर्ने हो भने घर, परिवार, समाज, देश हिंसामुक्त हुन सक्दैन । समाज विकासको एउटा पाटो नै महिलामाथि हुने हिंसा शून्य हुनु हो । विकासको बाधकलाई हटाएर सम्मानपूर्वक जीवनयापनको आधार र यसले दिने खुसीले नै समृद्ध बनाउन सकिन्छ ।

लंैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहँदा यस किसिमका हिंसाका घटनाहरू बढेर आइरहेको पाउँछौँ । जसले भोगेको छ, उसले नै यसको मुक्तिको लागि नेतृत्व गर्नुपर्छ । तर, महिलाको सवाल महिलाले मात्र उठाउने होइन कि हामी सबै मिलेर उठाउन सक्यौँ भने मात्र समाज विकासको लक्ष्य पूरा हुन सक्छ । एउटा घरको कलह भनेर छाड्दा उसका बालबालिका, छिमेकी र समग्र समाजले अनेकन् दुःख पाउने र विकासका लागि लगाउनु पर्ने शक्ति त्यतातिर खर्च गर्नु पर्ने हुन्छ । एउटा महिला घरबाट निकालिइन् भने समाजले उसलाई बस्ने व्यवस्था गर्नु प¥यो । उसको लागि न्याय खोजिदिनु पर्‍यो ।

पुनःस्थापनाका लागि लाग्नुपर्‍यो । हो, त्यसैले समाज विकासका लागि महिलामाथि हुने हिंसा शून्य पार्न सकेमा मात्र सबै झन्झट हटेर जानेछ । अल्झिएर बसेकाहरूले विकासका काम गर्नेछन् अनि हामी समृद्ध हुनेछौँ ।

सबै प्रकारको विभेद र हिंसाको अन्त्य भई संविधानको मर्म अनुसार महिला र पुरुष दुवैले समान अधिकारको प्रयोग व्यवहारमा गर्न सक्ने वातावरण हुन सकोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस