शिक्षा सेवाका अधिकृतको नतिजा सार्वजनिक, २४ जिल्लाबाट २८ जना सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षा सेवाका अधिकृतको नतिजा सार्वजनिक, २४ जिल्लाबाट २८ जना सिफारिस


१४ मंसिर २०७५, शुक्रबार


लोक सेवा

काठमाडौं । लोक सेवा आयोगले शिक्षा सेवाका अधिकृतहरूको नतिजा प्रकाशन गरेको छ । आयोगले गतवर्ष कार्तिक २९ गते खुला तथा समावेशीका आधारमा पदपूर्तिका लागि माग गरेको शिक्षा सेवा तर्फ विभिन्न ३ वटा समूहमा २८ जनाको पदपूर्ति गरेको हो ।

विज्ञापन भएका पदहरू खुलातर्फ १५, महिला ४, आदिवासी/जनजाति ३, मधेशी ३, दलित १, अपांग १ र पिछडिएको क्षेत्रतर्फ १ जना गरी जम्मा २८ पदमा विज्ञापन प्रकाशन भएकोमा शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहमा विद्यालय निरीक्षक पदमा २६, पुरातत्व समूह, पुरातत्व उपसमूहमा पुरातत्व अधिकृत पदमा १ र पुस्तकालय विज्ञान समूहमा पुस्तकालय अधिकृत पदमा १ वटा रहेकोमा सबै २८ पदको पदपूर्ति भएको आयोगले जनाएको छ ।

लोक सेवा आयोगका सहसचिव तथा प्रवक्त्ता किरण राज शर्माका अनुशार नेपाल शिक्षा सेवाका अधिकृतस्तरका पदहरूमा प्रदेश १ बाट ५ जना, प्रदेश २ बाट ४ जना, प्रदेश ३ बाट १ जना, प्रदेश ४ बाट २ जना, प्रदेश ५ बाट ६ जना, प्रदेश ६ बाट ३ जना र प्रदेश ७ बाट ७ जना सिफारिश भएका छन् ।

जिल्लागत रूपमा सर्लाही, कञ्चनपुर, दार्चुला, बर्दिया जिल्लाबाट २/२ जना, अर्घाखाँची, उदयपुर, ओखलढुङ्गा, काठमाडौँ, जाजरकोट, डोटी, डोल्पा, दाङ, धनुषा, बभाङ्ग, बारा, बैतडी, भोजपुर, मुगु, मोरङ, रुकुम, रुपन्देही, पर्वत, स्याङ्जा र सुनसरीबाट १÷१ जना सिफारिश भएका छन् । जम्मा २४ जिल्लाबाट उम्मेदवारहरू सिफारिश भएको प्रवक्त्ता शर्माले जानकारी दिए ।

त्यसैगरी सिफारिश भएका उम्मेदवारहरूको उमेर समूह २५ देखि ३० वर्ष उमेर समूहका १२ जना, ३० देखि ३५ वर्ष उमेर समूहका १० जना र ३५ वर्ष भन्दा बढी उमेरका ६ जना रहेका छन् ।

शिक्षा संकायका विभिन्न विषयमा न्यूनतम स्नातक उत्तीर्ण (पुस्तकालय विज्ञानको हकमा स्नातकोत्तर) उम्मेदवारहरूले शिक्षा सेवाको अधिकृत सरहको पदमा आवेदन दिन सक्ने व्यवस्था रहेको छ । सिफारिस भएका उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यताका आधारमा प्रथम ५ जना र द्वितीय श्रेणीका २३ जना रहेका छन् ।

नेपाल शिक्षा सेवाका अधिकृत वा सो सरह पदको लिखित परीक्षा २०७४ माघ/फागुनमा सम्पन्न भई लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको २०७५ मंसिर ११ गते देखि मंसिर १४ गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो ।

नेपाल शिक्षा सेवामा अधिकृत पदका उम्मेदवारहरूले प्रथम पत्रको लिखित परीक्षा १०० पूर्णाङ्कको वस्तुगत बहुवैकल्पिक प्रश्नका आधारमा र दोस्रो पत्र १०० पूर्णाङ्कको विषयगत परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ ।

लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको १० पूर्णाङ्कको सामूहिक परीक्षण र लिखित परीक्षाको पूर्णाङ्क अनुसार लिखित परीक्षाको १०० पूर्णाङ्कका लागि २० र प्रत्येक थप १०० पूर्णाङ्कका लागि थप १० अंकका दरले हुन आउने अंकको अन्तर्वार्ता लिने व्यवस्था रहेको हुँदा अन्तर्वार्ताको पू्र्णाङ्क ३० हुन आउँछ ।

लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने सामूहिक छलफलमा समूहमा काम गर्ने कौशल, समन्वय गर्ने स्तर, समस्यालाई हल गर्ने उपायहरूको क्षमताको अतिरिक्त नेतृत्व लिन सक्ने क्षमता, धैर्यता, व्यवहार, सृजनशीलता जस्ता विषयको परीक्षण हुने प्रवक्ता शर्माले बताए ।

शर्माका अनुसार अन्तर्वार्तामा सम्बन्धित विषयको जानकारी, मनोवृत्ति, व्यक्तित्व, निर्णय गर्ने क्षमता, सहयोगी भावना, बानी, व्यवहार र नैतिक आयममा समेत सूक्ष्म परीक्षण गर्दै व्यवहारिक परीक्षण समेत गरी योग्यतमहरुलाई नियुक्तिका लागि छनौट गर्ने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस