जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै


१३ मंसिर २०७५, बिहिबार


तेह्रथुम । परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् ।

धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि छन् । त्यस्तै युवामध्ये एक हुन् मेन्छ्यायेम गाउँपालिका–६ का विनोद अधिकारी । उनी तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत थिए । तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि उनको दैनिकी परिवर्तन भयो । अहिले उनले टिना जडीबुटी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जडीबुटीको व्यवसाय गर्दै आएका छन् ।

०७४ सालमा फार्म दर्ता गरी व्यावसायिक बनेका अधिकारीले अहिले कृषि फार्ममा थुप्रै जातका जडीबुटी लगाएका छन्। फार्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत ५० बढी जातका जडीबुटी पाइन्छ ।

यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारीले बताए । शुरुआतमा रु पाँच लाख ५० हजारले थालेको जडीबुटी खेतीमा हालसम्म रु २८ लाख बढी लगानी भइसकेको उनले बताए । पचास रोपनी आफ्नो जग्गा र भाडामा लिएको १५ रोपनी जग्गामा सञ्चालित फार्मबाट उनले वार्षिक रु १० लाख मुनाफा कमाउने लक्ष्य राखेको पनि बताए । अहिले कमाइ अलि कम छ । उद्देश्यअनुसार लगानी र मेहनत गरिरहे पनि खेती थपिँदै गएकाले आम्दानी बढ्ने क्रममा मात्रै भएको उनले बताए ।

माओवादी द्वन्द्वकालमा उनले फष्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा ०५८ सालदेखि दुई वर्ष बिताएका थिए। २०६३ देखि २०६४ सम्म दुई वर्ष हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा समूहको सदस्यसमेत भएर काम गरेको उनी बताउँछन् । उनले २०६२/०६३ को जनआन्दोलनपश्चात् विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट बाहिरिएको बताए।

सेना समायोजनमा नपरेपछि उनले साधारण जीवन नै रोजे । अहिले पनि उनलाई राजनीतिमा धेरै चासो छैन । थोरै राजनीति र धेरै व्यावसायिक बन्ने योजना बनाएको उनी बताउँछन् । माओवादी सशस्त्र द्वन्द्वपछि घर फर्किएर उनले धेरै कमाउनेभन्दा पनि थोरै तर आफ्नै देशमा कमाउने सोच बनाएको बताए । त्यही सोचेर पाँचथर स्थायी घर भएका अधिकारी मेन्छ्यायेम गाउँपालिकामा बसाइँ सरे।

त्यसपछि उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने विचारले कृषि क्षेत्रमा लागेको उनी बताउँछन् । नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उनको भनाइ छ ।

विनोदलाई जडीबुटी खेती र व्यवसायमा श्रीमती मथुराले सघाउँछन्। श्रीमान्–श्रीमती दुईले फार्मको काम गर्ने गरेको र आवश्यक पर्दा अन्य कामदार पनि लगाउने गरिएको अधिकारीले बताए । “घर, परिवार तथा देशभन्दा टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन”, अधिकारी भन्छन्, “अझ म त पुरानो राज्य व्यवस्था परिवर्तनका लागि लडेँ, परिवर्तन पनि आयो, तर नेतामाथि पुगे पनि नेपाली जनताका लागि भने खुशीका दिन आउन बाँकी नै छ ।”

व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी जडीबुटी व्यवसायमा सन्तुष्ट छन् । बिहानदेखि साँझसम्म अधिकारी जडीबुटी रोपण, हेरचाह, पानी हाल्ने तथा गोडमेलमै व्यस्त छन् । “पैसा कमाउन जागीरै खानुपर्छ, अनि विदेशै जानुपर्छ भन्ने सोच त्याग्नुपर्छ”, उनी भन्छन् ।

चिया नर्सरीका लागि गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडबाट रु २५ हजार प्राप्त गरेको अधिकारीले बताए । व्यवसायलाई अझै बढाएर लैजाने र उत्पादित वस्तुलाई नेपालका स्थानीय बजारका साथै छिमेकी राष्ट्र चीन र भारतसम्म पनि बिक्री गर्न लैजाने योजना रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस